कप्तान लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले हराएको छ।
घरेलु मैदानमा सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा पराजय ब्यहोर्नुपरेको हो।
खराव लयमा रहेको सेभियाले ला लिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जितेको छ। गत महिना कोपा डेल रेमा पनि सेभिया बार्सिलोनासँग पराजित भएको थियो ।
जेसस नाभाले खेलको २२औं मिनेटमा गरेको गोलले घरेलु समर्थक उत्साहित भएका थिए। तर, त्यसको चार मिनेटपछि नै मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए। खेलको ४२ औं मिनेटमा पाब्लो साराबियाको पासमा गाब्रियल मार्काडोले सेभियालाई पुनः अग्रता दिलाए। सेभियाले पहिलो हाफ २-१ को अग्रतामा टुंग्यायो ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बार्सिलोनाका लागि मेस्सीले ६७ औं मिनेटमा डेम्बेलेको पासमा गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।
खेलको ८५ औं मिनेटमा मेसीले नै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। यो सँगै उनको ह्याट्रिक पूरा भयो।
इन्ज्यूरी समयको अन्तिम मिनेटमा लुईस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४-२ गोलको जित निश्चित गरे।
मेसीको यो करिअरको ५० औं ह्याट्रिक हो। सेभियाबिरुद्ध पनि उनको रेकर्ड राम्रो छ। सेभियाबिरुद्ध खेलेका पछिल्ला ३५ खेलमा मेस्सीले ३६ गोल गरेका छन् ।
यो जितले बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ।
२५ खेलबाट बार्सिलोनाको ५७ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ४७ अंक छ । २४ खेलबाटै रियल मड्रिडको ४५ अंक छ।