कीर्तिमानी प्रदर्शनसँगै आयरल्याण्डबिरूद्दकाे सिरिज अफगानिस्तानले जित्यो

काठमाडौं । अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा धेरै कीर्तिमान बनेको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले हराउँदै तीन खेलको शृंखला २-० ले जितेको छ।

शनिबार देहरादुनस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनायो। यो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक स्कोर हो।

अफगानिस्तानका लागि हज्रतुल्लाह जाजाई र उस्मान घानीले पहिलो विकेटका लागि २३६ रनको साझेदारी गरेका थिए। यो पनि अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा अर्को कीर्तिमान हो।

जाजाईले ६२ बलमा ११ चौका र १६ छक्काको सहयोगमा अविजित १६२ रनको सानदार पारी खेले। यो पनि ट्वान्टी ट्वान्टी सर्वाधिक दोस्रो ठूलो रन हो।

यो रन अष्ट्रेलियाका अरोन फिन्चको नाममा रहेको सर्बाधिक रनको कीर्तमानभन्दा १० रन कम हो।

गत वर्षको जुलाइमा जिम्बाबेबिरुद्ध फिन्च र डिआर्कीले बनाएको पहिलो विकेटको २२३ रनको कीर्तिमान भने तोडिएको हो।

अफगानिस्तानका लागि घानीले ७३ रन बनाएका थिए। उनले ४८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

२७९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान पाउल स्टर्लिङ र केभिन ओब्रायनले पहिलो विकेटका लागि ११.५ ओभरमा १२६ रनको साझेदारी गरेर टिमको आशा जगाएका थिए। तर, १२औं ओभरपछि बलिङमा आएका राशिद खानले आफ्नो चार ओभरको स्पेलमा २५ रन खर्चेर ४ विकेट लिएपछि आयरल्याण्ड सुस्तायो र ८४ रनको हार बेहोर्‍यो।

यो जितसँगै अफगानिस्तानले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा अफगानिस्तान ४ रनले विजयी भएको थियो।