भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब चार किलोमिटर पश्चिममा अवस्थिति यो झरनामा बाह्रै महिनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ ।
2019-02-24 10:39
भोजपुर । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करिब ६० मिटर अग्लो झरनाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।
भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब चार किलोमिटर पश्चिममा अवस्थिति यो झरनामा बाह्रै महिनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिको जनाएको छ ।
गाउँपालिकाले यसको विकास गरेर आयआर्जनको स्रोत सङ्कलन गर्ने लक्ष्यका साथ यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि पर्यटकलाई यहाँ पुग्न निकै सहज भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । उनीहरूले यहाँ पुगेर भीरमौरीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् ।
यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीयको भनाइ छ । स्थानीय शिव राईले भने, “यो झरना प्रचारप्रसारको अभावले ओझेलमा थियो, तर गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।”
विगतमा प्रचारप्रसारको अभावले यो झरना निकै ओझेलमा परेको देखिन्छ । तर स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले करिब छ लाख रूपैयाँ बजेट विनियोजन गरेर सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको हो ।
यस झरनाको विकास गर्नका लागि काम भइरहेको गाउँपालिका अध्यक्ष धु्रवराज राईले जानकारी दिए । उनले भने, “हाम्रो गाउँपालिका पर्यटकीय तवरले निकै राम्रो छ, यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झरना हेर्न आउने पर्यटकका लागि चिया नास्तालगायत कुरा खानाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संरचना निर्माणका काम अगाडि बढाउँछाैं ।” मध्यपहाडी लोकमार्गले छोएको कारण पनि यो झरनामा आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढिरहेको हो । तस्बिरः युवराज विष्ट/रासस