गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन बाधक, ट्याङ्की बन्न एक वर्ष लाग्ने

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि २०६८ सालबाट जग्गाको खोजी गरेको भए पनि केही दिनअघि मात्र जग्गा प्राप्त गरेका कारण भण्डारण केन्द्र बनाउन ढिलाइ भएको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । हाल विमानस्थलले नै निगमलाई साढे ७ बिघा जग्गा उपलब्ध गराउने भएपछि अबको ७ देखि १० दिनभित्र टेन्डर आह्वान हुने उनको भनाइ छ ।

काठमाडौं । आगामी सेप्टेम्बरभित्र अन्तर्राष्ट्रिय उडानको तयारीका साथ तीव्र गतिमा निर्माण भइरहेको गौतमबुद्ध विमानस्थलमा हवाई तेलको अभाव हुने देखिएको छ । विमानस्थलमा आवश्यक हवाई इन्धन भण्डारणका लागि ट्याङ्की निर्माण अझै हुन सकेको छैन ।

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि २०६८ सालबाट जग्गाको खोजी गरेको भए पनि केही दिनअघि मात्र जग्गा प्राप्त गरेका कारण भण्डारण केन्द्र बनाउन ढिलाइ भएको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । हाल विमानस्थलले नै निगमलाई साढे ७ बिघा जग्गा उपलब्ध गराउने भएपछि अबको ७ देखि १० दिनभित्र टेन्डर आह्वान हुने उनको भनाइ छ ।

निगमले लामो समयदेखि जग्गा खरिदका लागि प्रक्रिया अगाडि बढाए पनि महँगो भएका कारण किन्न नसकिरहेको अवस्थामा विमानस्थलले नै जग्गा उपलब्ध गराउने भएपछि सहज भएको निर्देशक पौडेलले बताए ।

विमानस्थलमा १० हजार लिटर क्षमताको ट्याङ्की बनाउन आवश्यक प्रक्रिया पूरा भइसकेको र टेन्डर हुनेबित्तिकै काम अघि बढ्ने पौडेलले बताए । ट्याङ्की निर्माणका लागि करिब १ वर्ष लाग्ने निगमको भनाइ छ । विमानस्थलमा रहेको हालको ट्याङ्कीमा एक दिनका लागि मात्र हवाई इन्धन अट्ने गर्छ ।

अन्तर्राष्ट्रिय उडान सुरु भएपछि हवाई इन्धनको माग उच्च रहने भएकाले पनि निगमले ट्याङ्की निर्माणमा विषेश जोड दिन थालिएको जनाएको छ । सेप्टेम्बरबाट उडान सुरु भयो भने तत्कालका लागि हवाई इन्धनका ट्याक्करको सङ्ख्या बढाउने योजना रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । उनले हवाई इन्धनकै कारण अन्तर्राष्ट्रिय उडानमा बाधा नपुग्ने गरी तयारी अगाडि बढाइरहेको बताए । यस्तै विमानस्थलका लागि रिफिल बढाउने तयारीसमेत भएको जनाइएको छ ।

निगमले १७ ओटा रिफिलर ल्याउने तयारी गरेको छ । हवाइजहाज पार्किङ गरेकै स्थानमा गएर हवाई इन्धन भर्न मिल्ने उक्त रिफिलरमध्ये ३ ओटा आइसकेको, २७ हजार लिटर क्षमताका बाँकी ११ ओटा भारतीय आयल कर्पोरेसनसँग किन्ने सम्झौता गरिएको र बाँकी ३ ओटा पछि किन्ने योजना निगमको छ ।