पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिए । सधैँ कामको तनाव र हतारको जिन्दगीबाट बेफुर्सदिला रहने पत्रकारले आफ्ना लागि केही समय निकाले, पोखराको दुईदिने बसाइँलाई भरपूर सदुपयोग गरे ।
नेपाल पत्रकार महासंघको कार्यक्रममा पोखरा आएकी तनहुँका पत्रकार सोनी शर्माले सधँै हतार र बेफुसर्दिलो भएपनि यो पाली पोखरामा समय निकालेर यसअघि नगरिएको प्याराग्लाइडिङ गरेको बताइन्।
भोजपुरका पत्रकार राजेश राई भन्छन, ‘पोखराको बसाइँ संस्थागत उपलब्धि र व्यक्तिगत मनोरञ्जन दुवैका हिसाबले उत्कृष्ट रह्यो । विधान अधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भयो । त्यसलगत्तै श्रीमतीका साथ सुन्दर पोखराको घुमाइ’ ।फेवातालमा डुङ्गा सयर गर्दै तालमा हिमालको दृश्य देख्न पाउनुको आनन्द, शान्ति स्तुपाबाट पोखरा नियाल्नुको मजाले मनलाई आनन्दित पनि बनाएको उनले बताए । ‘पोखरा अझ केही दिनको बसाइँमा प्याराग्लाइडिङ गर्दै पोखराको अनुपम दृश्यलाई आँखामा कैद गर्न बाँकी छ’, उनले भने ।
चितवनका पत्रकार शिशिर सिम्खडा पनि पोखराको आतिथ्यताले निकै लोभ्याएको बताए । ‘सुन्दर शहर र सुन्दर मनको धनी पोखराको आतिथ्यता तीन वर्षअघिभन्दा धेरै फरक पाएँ’, उनले भने । प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको छ । यो सफल हुनेमा आफुलाई विश्वास रहेको उनले बताए । छोटो बसाइँमा पनि सराङ्ककोट, शान्तिस्तुपा, फेवाताल, महेन्द्रगुफा, डेभिजफललगायतका स्थानको अवलोकनले बेग्लै अनुभूति सङ्गालेर फर्किएको उनले बताए ।
अधिवेशनमा सहभागी हुन पोखरा आएकी पत्रकार चाँदनी हमाल पनि वर्षाैदेखि प्याराग्लाडिङ गर्ने रहर महासङ्घको कार्यक्रमसँगै पूरा गर्न पाएको बताइन् । ‘पोखरा जोकोहीको रोजाइको शहर, प्याराग्लाडिङ गर्नेहरुको तस्वीर हेरेर चित्त बुझाउँथे यसपालि आफँै उडेर रहर पूरा गरेँ’, उनले भनिन् । हमालले पोखराका सुन्दर प्राकृतिक दृश्य र पोखरेलीको न्यानो आतिथ्यतालाई बोकेर फर्किएको बताइन् ।
फागुन ९ र १० गते पोखरामा सम्पन्न पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन सङ्घीय संरचनाको नयाँ मोडललाई अङ्गिकार गर्ने अधिवेशन सफल भएको केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताए । उनले भने, ‘पोखराको अधिवेशन असाध्यै ऐतिहासिक साथै नमूनायोग्य रह्यो । अब महासङ्घ संस्थागत विकासका लागि आफ्ना मुद्दामा केन्द्रित भएर अगाडि बढ्छ ।’ ‘योसँगै नेपालभरका पत्रकार पोखरा जम्मा भए । सामाजिक सञ्जालभरि पोखराका तस्वीर छाए, यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै भूमिका खेल्ने आचार्यले बताए ।
स्थानीय व्यवस्थापन समितिका संयोजक एवं महासङ्घ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले महासङ्घको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै ऐतिहासिक रुपमा सम्पन्न भएको बताए । श्रेष्ठले पोखरामा देशभरका एक हजार ४०० पत्रकारहरुको आगमन भएको जानकारी दिए । यो जमघटले प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्षलाई पनि सघाउन सहयोग पु¥याएको उनले बताए ।
रासस