भ्रष्टाचारमा मुछिएका सांसद रौनियारका बाबुछोरा धरौटीमा रिहा

विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले दुबैसँग जनही एक करोड ७५ लाख धरौटी माग गरेको हो।

संघीय समाजवादी फोरम नेपालका (निलम्बीत) सांसद हरिनारायण प्रसाद साह रौनियार र उनका छोरा सुमित रौनियार १ करोड ७५ लाख धरौटी बुझाएर रिहा भएका छन्।

विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा आइतबार हाजिर भएका रौनियार बाबुछोरा प्राइम बैंक धरौटी बराबर ग्यारेन्टी बसेपछि रिहा भएका हुन्। दुबैले आईतबार विशेषमा हाजिर हुन निवेदन दिएका थिए।

विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले दुबैसँग जनही एक करोड ७५ लाख धरौटी माग गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौनियार सहित १२ बिरुद्ध १९ असोज २०७५ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। रौनियार बाबुछोरा बिरुद्ध १९ करोड भ्रष्टाचार गरेको मागदाबी गरिएको थियो।

आयोगले पप्पु कन्सट्रक्सनका तत्कालिन संचालक रहेका सांसद रौनियारसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

आयोगले पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेर भ्रष्टाचार भएको ठहर गरेको हो। आयोगले उद्घाटन अघि नै पुल भाच्चिएपछि अनुसन्धान सुरू गरेको थियो।

कन्स्ट्रक्सनका अध्यक्ष रहेका सांसद रौनियारका छोरा सुमित रौनियारलाई समेत १९ करोड ३२ लाख २५ हजार बिगोमागदाबी सहित मुद्दा दर्ता भएको हो।

आयोगले प्रतिवादीले बनाएका अन्यमा पुलको नक्सा बनाउने एभरेष्ट इन्जिनियरिङका संचालक कृष्णदेव यादव रहेका छन्। यस्तै डिभिजन कार्यालय नेपालगञ्जका तत्कालिन प्रमुखहरू भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार यादवलाई प्रतिवादी बनाएको हो।