पाँचथर पावर कम्पनीको आईपीओ खुल्यो, ९६२० कित्तासम्म आवेदन दिन पाइने

आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पाँचथर पावर कम्पनी लिमिटेडले आज सोमबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा फागनु १६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात ३५ हजार ५ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको सानिमाले बताएको छ ।

आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी बढेर ९६ करोड २५ लाख रुपैयाँ पुग्ने छ । न्यूनतम १० देखि अधिकतम ९ हजार ६२० कित्तासम्म आवेदन दिन पाइने छ ।

कम्पनीले पाँचथरमा १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ लाग्ने अनुमान छ । प्रतिमेगावाट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट साधारण लगानी फिर्ता ८ वर्ष ९ महिनामा हुने छ । कम्पनीले आगामी आर्थिक वर्षदेखि नाफा गर्ने भएको छ । आगामी वर्ष ८ करोड ८१ लाख रुपैयाँ खुदनाफा गर्ने प्रक्षेपण कम्पनीको छ । यस्तै अर्को वर्ष बढेर २७ करोड ४७ लाख रुपैयाँ नाफा गर्ने अनुमान पाँचथरको छ । चालू आर्थिक वर्षमा कम्पनी ७ करोड १४ लाख रुपैयाँ नोक्सान हुने छ ।

आउँदो ३ वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर १९ रुपैयाँ ३८ पैसा खुद सम्पत्ति १२८ रुपैयाँ ५४ पैसा पुग्ने प्रक्षेपण छ । केयर नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ ।