दमौलीबाट करिब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदलबाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टाभन्दा बढी समय लाग्थ्यो ।
दमौली । तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ का रुपमा परिचित थियो । दमौलीबाट करिब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदलबाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टाभन्दा बढी समय लाग्थ्यो ।
सदरमुकामबाट नजीकै रहेर पनि ओझेलमा पर्दैआएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षण बन्दैछ । अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिँड्नुपर्दैन, सवारीसाधनबाट करिब २५/३० मिनेटमै पुग्न सक्ने भएको छ । एक किलोमिटर बाटो कालोपत्र भइसकेको यस ठाउँमा कालोपत्र गर्ने काम भइरहेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा अलैचेबाट मानहुँकोटसम्म नै सडक कालोपत्र गर्ने तयारी भइरहेको छ । केन्द्र सरकारको दश करोड बजेटबाट सडक कालोपत्र गर्न बाटो निर्माणको काम थालिएको हो ।
मानहुँकोटबाट दमौली बजार छर्लङ्ग देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । मानहुँकोटमा अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भीड हुने गरेको छ । दमौली बजार र हिमालका शृङ्खलाहरु मनमोहक देखिने भएकाले आफू बेला–बेलामा यहाँ आउने गरेको बताउँछन् व्यास नगरपालिका–१ का शैलेश हड्खले ।
उनी भन्छन् – “मानहुँकोट दृश्यावलोकनका लागि निकै मनमोहक छ । दमौली बजार आसपासका क्षेत्र कुहिरोले घेरेको हेर्दा निकै आनन्द लाग्छ ।”
जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजीकबाट नियाल्न पाउँदा आनन्द लाग्ने बताउँछिन् रिसिङ गाउँपालिका–१ की बसन्ती आले । उनका अनुसार मानहुँकोटबाट देखिने हिमाल तथा समथर फाँट, नदीनालाले निकै मनमोहक बनाउँछ ।
विशेष गरेर आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल समेत रहेको बताउँछन् व्यास नगरपालिका वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ । दृश्यावलोकनका लागि महत्त्वपूर्ण गन्तव्यका रुपमा रहेको मानहुँकोटको प्रचारप्रसार हुन सकेकै कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको श्रेष्ठले बताए ।
व्यास नगरपालिका–५ र म्याग्दे गाउँपालिका–१ लाई समेटेको यो मगर समुदायको बसोबास रहेको क्षेत्र हो । मगर समु्दायको संस्कृति यो ठाउँको अर्को आकर्षण हो ।
मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन नसकेको स्थानीय गोपीराम थापाले बताए ।
मानहुँकोटको प्रचारप्रसारका लागि चण्डीपूर्णिमाको अवसरमा कौराहा उत्सव गर्ने गरिएको छ । समुद्री सतहदेखि एक हजार १०० मिटर उचाइमा रहेको मानहुँकोटमा शनिबार र विदाको दिनमा ५०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।
मानहुँकोटको विकासका लागि व्यास नगरपालिकाले पूर्वाधार निर्माणमा समेत ध्यान दिएको छ । नगरपालिकाले मानहुँकोटको गुरुयोजना निर्माण गरी यसको विकासका लागि काम थालेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार मानहुँकोटको पर्यटन प्रवर्द्धनका लागि भ्युटावर बनाउने तयारी गरिएको छ । यसका लागि नगरपालिकाले ३० लाख रूपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।
भ्युटावर बनेपछि यहाँबाट मादी र सेती नदीमा बनाइने ड्याम, विभिन्न हिमशृङ्खला, तनहुँ, कास्की, नवलपरासी, गोरखा लगायतका जिल्लाका मनोरम दृश्यको साथै फाँटहरू सजिलै देख्न सकिन्छ । नगरपालिकाले मानहुँकोटमा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययनसमेत थालेको छ ।
–तस्बिरः कृष्ण न्यौपाने/रासस