नेप्से र काराेबार रकम दुवैमा सुधार

गत साताका पछिल्ला दुई दिनदेखि सुधारको गतिमा देखिएको बजारसूचक साढे एक अङ्कले बढेको छ ।

सेयर बजारमा सुधार आउने क्रमले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । गत साताका पछिल्ला दुई दिनदेखि सुधारको गतिमा देखिएको बजारसूचक साढे एक अङ्कले बढेको छ ।

गत साताका अन्तिम दुई दिन बुधबार र बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) बढेको भएपनि साताभरमा समान्य अङ्कले घटेको थियो । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको थियो । नेप्सेमा देखिएको सुधारसँगै कारोबार रकम पनि बढ्ने सङ्केत देखिएको छ ।

गत साताको अन्तिम दिन बिहीबार २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेमा आइतबार ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार कारोबार सुरु हुँदा १४०४.५३ अङ्कमा रहेको नेप्से १.४२ अङ्कले बढेर बन्द हुँदा १४०५.९५ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि समान्य अङ्कले बढेको छ । आइतबार बैङ्क तथा विकास बैङ्कको सेयर मूल्यमा सुधार आएपछि समग्र बजारसूचक सकारात्मक भएको हो ।

नेप्सेका कारोबार भएका बैङ्किङ ५.९२ र विकास बैङ्क समूह मात्र ४.७६ अङ्कले बढेका छन् । तर, बिमा १२.४९, व्यापार १०.३९, होटल २८.०२, जलविद्युत् १६.९२, उत्पादनमूलक समूह ९.३९, वित्त २.७५, लघुवित्त समूह ५.४५ र अन्य समूह ३.०३ अङ्कले घटेका छन् ।

आइतबार नेप्सेमा १ सय ५८ कम्पनीको ४ हजार ९ सय १६ कारोबारबाट ३५ करोड ४७ लाख रुपैयाँ बराबरको ८ लाख ५१ हजार ३ सय २५ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबारभन्दा धेरै कम हो ।