सबैभन्दा महँगो मूल्य भएको युनिलिभर नेपाल लिमिटेडको सेयर किन्न पनि मार्जिन कर्जा नपाउने भएको देखिएको छ । युनिलिभरको सेयर सदस्यको सङ्ख्या १० हजार पुग्दैन । कम्पनी राम्रो भए पनि उसको सेयर मार्जिन कारोबार गर्न नमिल्ने अवस्था देखिएको हो । यस्तै लगानीकर्तालाई राम्रो लाभांश दिँदै आएका बैङ्क तथा वित्तीय संस्थाको सेयर किन्न मार्जिन कर्जा नपाउने देखिएको छ ।
काठमाडौं । अधिकांश सूचीकृत कम्पनीको सेयर खरिदका लागि ब्रोकरमार्फत मार्जिन कर्जा नपाउने देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत २०४ मध्ये बढीमा ४२ कम्पनीको मात्र सेयर किन्न ब्रोकरमार्फत मार्जिन कर्जा पाउने देखिएको हो ।
नेप्सेमा बैङ्क तथा वित्त, बीमा, जलविद्युत, होटल र उत्पादनमूलक गरी २०४ कम्पनीको सेयर कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् । २०४ कम्पनी सूचीकृत भए पनि कार्यविधिअनुसार मार्जिन कर्जाका लागि अधिकांश कम्पनी अयोग्य हुने देखिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । उनले ४० देखि ४२ कम्पनीको सेयर किन्नका लागि ब्रोकरबाट मार्जिन कर्जा पाउने देखिएको जानकारी दिए । नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्ने भएको छ । कार्यविधि हेर्नलाई यहाँ क्लिक गर्नुहोस ।
सबैभन्दा महँगो मूल्य भएको युनिलिभर नेपाल लिमिटेडको सेयर किन्न पनि मार्जिन कर्जा नपाउने भएको देखिएको छ । युनिलिभरको सेयर सदस्यको सङ्ख्या १० हजार पुग्दैन । कम्पनी राम्रो भए पनि उसको सेयर मार्जिन कारोबार गर्न नमिल्ने अवस्था देखिएको हो । यस्तै लगानीकर्तालाई राम्रो लाभांश दिँदै आएका बैङ्क तथा वित्तीय संस्थाको सेयर किन्न मार्जिन कर्जा नपाउने देखिएको छ ।
नेपाल धितोपत्र बोर्डले तयार पारेको मार्जिन कारोबारसम्बन्धी निर्देशिकामा कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर किनबेच भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य हुने उल्लेख गरेको छ ।
यस्तै सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १ सय ८० दिनको औसत अन्तिम बजारमूल्य वा बजारमूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनका रुपमा लिनपर्ने व्यवस्था गरिएको छ ।
धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले ५० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछ ।
ब्रोकर आफूले लगानी गर्ने नभई जमानी बसेर बैङ्कमार्फत सेयर कर्जा दिने व्यवस्था हुनेछ । यसमा नाफा र घाटा दुवै लगानीकर्ताको हुनेछ । ब्रोकर कम्पनीको बैंकसंग साझेदारीमा यस्तो कर्जा दिने व्यवस्था हुनेछ ।
कार्यविधि आएपछि नेप्सेले मङ्गलबार नै मार्जिन कारोबार सुरु गर्न ब्रोकर कम्पनीसँग आवेदन मागेको छ । ब्रोकर कम्पनीले नेप्सेमा आवेदन दिएपछि मार्जिन कारोबार सुरु हुने कालिका सेक्युरिटिज कम्पनीका प्रबध सञ्चालक नरेन्द्र सिजापतिले बताए । कार्यविधि हेर्दा धेरै कम्पनीको सेयर किन्न मार्जिन कर्जा प्रवाह नहुने अवस्था देखिएको उनले जानकारी दिए । कुन कम्पनीको मार्जिन कारोबार गर्ने हो नेप्सेले विवरण दिने उनले स्पष्ट पारे । नियमित कारोबार हुने, राम्रो प्रतिफल दिने स्थायित्व भएका कम्पनीमा मात्र मार्जिन गर्न सकिने अवस्था रहेको उनले सुनाए ।
ऋणको ब्याजदर ब्रोकर र नेप्सेले निर्धारण गर्न सक्ने व्यवस्था कार्यविधिमा छ । मार्जिन कारोबार सुविधाका लागि सम्भार मार्जिन ४० प्रतिशत हुने भएको छ । सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यका आधारमा न्यूनतम ४० प्रतिशत वास्तविक मार्जिन कायम गर्नुपर्नेछ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन ४० प्रतिशतभन्दा कम हुन आए सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ ।
मार्जिन खाताअन्तर्गत रहेका धितोपत्रहरुमा सूचीकृत सङ्गठित संस्थाहरुले बोनस सेयर जारी गर्ने भए दाखिल खारेज बन्दपश्चात् मार्जिन खाताको वास्तविक मार्जिन गणना गर्दा उक्त धितोपत्रहरुले प्राप्त गर्ने बोनस सेयरलाई बजार मूल्यको ५० प्रतिशत मूल्याङ्कन गरिने व्यवस्था कार्यविधिमा छ ।
मार्जिन खाताअन्तर्गत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्विजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो धितोपत्र समावेश भएको समूहगत परिसूचक २० प्रतिशतभन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई ७ दिनको समय दिई उक्त धितोपत्रबापतको मार्जिन ऋण तथा सोसँग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न सदस्य दलाल व्यवसायीले सूचित गर्न सक्नेछ ।