काठमाडौं, फागुन १७
ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ।
शिक्षण अस्पताल महाराजगञ्जमा बिहिबार राति साढे १ बजे सातै जनाको शव परीक्षणको काम सकिएको पछि अहिले बिहान पूर्व निर्धारित समयमा टुँडिखेलमा राखिएको हो।
सातै जनाको शवलाई बिहान ११ बजेसम्म टुँडिखेलमा राखिने र श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
पोष्टमार्टम गर्न ढिलाई हुने भएपछि टुँडिखेलमा बिहिबार गर्ने भनिएको राष्ट्रिय सम्मान आजका लागि सारिएको थियो।
श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने र अन्य मृतकको शव आफन्तजनलाई जिम्मा दिइने छ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।