प्रधानमन्त्रीले भने : वाइडबडीमा रविन्द्र अधिकारी निर्दोष थिए

पर्यटन मन्त्री अधिकारीको निधनपछि भने प्रधानमन्त्री ओलीले उनि निर्दोष रहेको बताएका छन् । नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको बताए ।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी वाइडबडी खरिदमा निर्दोष भएको बताएका छन् ।

नेपाल वायुसेवा निगमले खरिद गरेको २ वटा वाइडबडी जहाजमा ४ अर्ब रुपैया घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखासमितिले मन्त्री अधिकारी सहितको संलग्नता देखिएको निश्कर्ष निकालेको थियो ।

समितिले पर्यटन मन्त्री अधिकारी सहित पूर्व पर्यटन मन्त्रीहरुलाई नैतिकताको आधारमा जिम्मेवारी लिन अनुरोध गरेका थिए । वाइडबडी खरिदमा आरोप लागेका मन्त्री अधिकारीलाई राजीनामा दिन चौतर्फि दबाब दिएका थिए । तर प्रधानमन्त्री ओली निवासमा लामो छलफल पछि राजीनामा नदिने र दोषी नभएको दावी गर्दै पत्रकार सम्मेलन गरेका थिए ।

पर्यटनमन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर आफु निर्दोष रहेको बताइरहदा प्रधानमन्त्री ओलीले भने यस विषयमा केहि प्रतिक्रिया दिएका थिएनन् । तर पर्यटन मन्त्री अधिकारीको निधनपछि भने प्रधानमन्त्री ओलीले उनि निर्दोष रहेको बताएका छन् ।
नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको बताए ।

वाइडबडीबारे अधिकारीलाई आरोप लगाउनु दुःखद भएको प्रधानमन्त्री ओलीले बताएका छन । मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधारण काम गरेको ओलीले बताए । उनकै सक्रियतामा ६ वटा विमास्थलमा रात्री उडान सञ्चालन, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने काम भएको ओलीले बताए ।