गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीलाई सेयर दिने भएको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा स्थानीयवासीलाई नै लगानीको अवसर दिइने हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताए । जलविद्युत् आयोजनाको पावरहाउस र कर्मचारी आवासगृहको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गरेकी थिइन ।
५ अर्ब १४ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको जलविद्युत् आयोजनामा संस्थागत पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गरिने अध्यक्ष कुँवरले जानकारी दिए।
आयोजनामा सानीमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने एकवर्ष अगाडि नै सम्झौता भइसकेको छ ।
आयोजामा दक्षिण कोरिया, हङकङ, युकेलगायत विश्वका विभिन्न देशका साथै काठमाडौँमा बसोवास गर्ने म्याग्दीका बासिन्दा, म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रर्वद्धक रहेका छन् ।
विद्यत् खरीद सम्झौता (पिपिए) मा नेपाल विद्युत् प्राधिकरणले प्रर्वद्धकसँग वर्षात्का आठ महीनाप्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामका चार महीनाप्रति युनिट ८ रुपैयाँ ४० पैसामा खरिद गर्ने उल्लेख गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभी प्रसारणलाइन हुँदै डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रियप्रशारण लाइनमा जोडिने छ । योजना आगामी २०७९ सालसम्म निर्माण सम्पन्न गरिने उनले बताए । रासस