अस्पतालले भन्यो- भरतमोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यून

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको चिकित्सकहरूले बताएका छन्।

तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारी जीवित रहेको तर बचाउन सकिने सम्भावना निकै न्यून रहेको उपचारमा संलग्न चिकित्सकहरुले शनिबार पत्रकार सम्मेलन गरेर बताएका हुन्।

अस्पतालका आइसियु प्रमुख डाक्टर हेमराज पनेरूका अनुसार अधिकारीको स्वास्थ्य अवस्था निकै गम्भीर र स्थिर रहेको तथा शरीका सबै अंगले काम गर्न छाडेको बताएका छन्। ‘उहाँको स्वास्थ्य अवस्था निकै गम्भीर छ। उहाँको सबै अंगले काम गर्न छोडेको छ। २४ घण्टादेखि पिसाब भएको छैन। कृत्रिम स्वासप्रस्वास दिएर राखिएको छ। उहाँ जीवित हुनुहुन्छ तर बचाउन सकिने सम्भावना न्यून छ।’

परिवारका सदस्यसमेत उपस्थित भएक पत्रकार सम्मेलनमा उनले चिकित्सा विज्ञानमा सम्भव हुने सबै उपचार गरिसकेको तर उनको सुधार नभएको जजानकारी गराएका हुन्।