कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपछि लगानीकर्ता नेपाल लाइफमा झुम्मिएका हुन् ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार लाभांश प्रस्ताव गरेपछि सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १ हजार ४८ रुपैयाँमा २ करोड ६० लाख रुपैयाँ बराबरको २५ हजार २७७ कित्ता सेयर किनबेच भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपछि लगानीकर्ता नेपाल लाइफमा झुम्मिएका हुन् । अघिल्लो वर्ष कम्पनीले ७१ प्रतिशत लाभांश दिएकोमा यो वर्ष भने घटेको छ । लाभांश घोषणापछि नेपाल लाइफको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँ बढेको छ । गत बुधबार कम्पनीको सेयर प्रतिकित्ता १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत अर्थात १ करोड ९ लाख ९२ हजार ३२१ कित्ता बोनस सेयर र २३.५ प्रतिशत अर्थात १ अर्ब ३ करोड ३२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । बिमा समिती र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
यस्तै नेपाल बैंकको प्रतिकित्ता २८३ रुपैयाँमा १ करोड ५ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार कुल २३ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार बजार ४.९ अंक घटेर नेप्से परिसुचक १ हजार १०० मा झरेको छ । होटल र जीवन बिमा बाहेक सबै परिसुचक राताम्य भएका छन् ।
आइतबार बजार घट्दा नेपाल लाइफ इन्स्योरेन्स र भागर्व विकास बैंकका लगानीकर्ताले कमाएका छन । यस्तै सिन्धु विकास बैंक र कृषि विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।