चेल्सीले फुलहमलाई हरायो

इङ्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहमलाई पराजित गरेको छ  ।  आइतबार भएको खेलमा चेल्सीले फुलहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो  ।

नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले बाजी मारेको हो।

फुलहमको मैदानमा चेल्सीलाई जिताउन गोन्जलो हिगुआइन र जर्गिन्होले गोल गरे। फुलहमका कलुम च्याम्वर्सले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफको ११ मिनेटको अन्तरमा भएको थियो।

खेलको २०औं मिनेटमा गोन्जलो हिगुआइनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । कप्तान सिजरको क्रसमा हिगुआइनले ८ यार्ड बक्सबाट गोल गरेका थिए । २७औं मिनेटमा कलुम च्याम्वर्सको गोलबाट घरेलु टोलीले खेललाई १–१ को बराबरीमा ल्याए । बाबेलको क्रसमा अनमार्क रहेका कलुमले भली प्रहार गरेका थिए ।

३१औं मिनेटमा जर्गिन्होले इडेन हाजार्डको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो । यो जितसँगै प्रशिक्षक मौरिसियो सार्रीलाई राहात मिलेको छ ।

जितसँगै चेल्सी २८ खेलबाट ५६ अंक जोडेर तालिकाको छैठौं स्थानमा यथावत छ। फुलहम १७ अंक जोडेर १९औं स्थानमा छ। यता शीर्ष स्थानको म्यान्चेष्टर सिटीले समान खेलबाट ७१ अंक जोड्दा दोस्रो स्थानको लिभरपुल ७० तथा तेस्रो स्थानको टोटेनह्यामले ६१ अंक जोडेको छ। चौथो स्थानको म्यान्यूको ५८ अंक तथा पाँचौ स्थानको आर्सनलको ५७ अंक छ।