राष्ट्रपति र उपराष्ट्रपतिसहित कतिले गरे पशुपतिको दर्शन?

काठमाडौँ । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन्।

महाशिवरात्रिका अवसरमा आज बेलुकी राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन पूजा एवं दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका थिए।पूजापछि उनीहरुलाई मन्दिरका मूल पुजारी गणेश भट्टले प्रसाद वितरण गरेका थिए।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य, कर्मचारी र लाममा बसेका भक्तजनले मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई स्वागत गरेका थिए।

पर्वका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरी दर्शन गर्ने परम्परा छ । महाशिवरात्रिका अवसरमा बेलुकी ६ बजेपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा शुरु भएको कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए। सो अवसरमा चार सय पटकसम्म विशेष पूजा गरिन्छ । प्रहर प्रहरमा विशेष पूजा गर्ने विधि रहेको उनले बताए।

मङ्गलबार बिहान ६ बजेसम्म पूजा जारी रहने जनाइएको छ। यस पर्वको महत्व रात्रिमा बढी हुने भएकाले अहिले पनि पशुपति क्षेत्रमा भक्तजन दर्शनका लागि लाममा बसिरहेका छन् । आज आएजति सबै भक्तजनलाई दर्शन गर्न दिइने कोषले जनाएको छ।

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेपलाञ्चोकको धनेश्वर, सिन्धुपाल्चोकको स्फटकेश्वर, सिन्धुलीको कुशेश्वर, खोटाङको हलेसी, झापाको अर्जुनधारा, महोत्तरीको जलेश्वर, अछामको वैजनाथ धामलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको थियो ।

पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदा अर्थात् यहि फागुन २२ गते दान दक्षिणासहित बिदाई गरिने कोषले जनाएको छ।

गुठी संस्थानले पनि आगन्तुक सबै साधु सन्तलाई परम्परा अनुसार दान दक्षिण दिएर बिदाई गर्ने परम्परा छ । सृष्टिको शुरुमा फागुन कृष्ण चतुर्दशीका दिन वाग्मती किनारमा शिवलिङ्गको उत्पत्ति भएकाले महाशिवरात्रि मनाउने परम्परा बसेको जन विश्वास छ । आज व्रत बसी शिवको आराधना गर्नेले शिवत्व शक्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

हेर्नुहोस् तस्बिरहरू