भारतीय कम्पनी कुबेर ग्रुपले खरिद गरेको सौर्यले आज पहिलो किस्ताबापत ५० लाख रुपैयाँ तिरेकाे छ । सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले १ महिनाभित्र सबै बक्यौता रकम तिरिसक्ने गरी तयारी गरिएको जानकारी दिए ।
काठमाडौं । करिब ४ महिनादेखि उडान रोकिएको सौर्य एयरलाइन्सले फागुन २४ गतेबाट नियमित उडान गर्ने भएको छ । भारतीय कम्पनी कुबेर ग्रुपले खरिद गरेको सौर्यले मङ्गलबार पहिलो किस्ताबापत ५० लाख रुपैयाँ तिरेकाे छ ।
सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले १ महिनाभित्र सबै बक्यौता रकम तिरिसक्ने गरी तयारी गरिएको जानकारी दिए । यस्तै एयरलाइन्सले बैङ्कको रकमसमेत तिरिसकेको जनाएको छ । केही समयअघि जनता बैङ्कले सौर्य एयरलाइन्सका सञ्चालकहरुलाई रकम तिर्न पत्रिकामा सूचनासमेत प्रकाशन गरेको थियो ।
सौर्यले विमानस्थलको सेवाशुल्क बापतको ४ करोड रुपैयाँ तिर्न बाँकी छ । बक्यौता रकम नतिरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उसका विमान ग्राउन्डेड गरेको थियो । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले ५० लाख रूपैयाँ तिरेकाे बताए । विमानस्थलले सेवा शुल्क नतिरेको भन्दै मङ्सिर ११ गतेबाट सौर्यका जहाज ग्राउण्डेड गरेको थियो । आर्थिक सङ्कटमा परेको सौर्य केही साताअघि मात्र भारतीय लगानीकर्ता कुबेर ग्रुपले ६३ करोड रुपैयामाँ खरिद गरेको थियो । कुबेर ग्रुपले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपाली आफन्तहरुका नाममा खरिद गरेको जनाएको छ ।
हाल २ ओटा बम्बार्डिएर जहाजमार्फत उडान गर्दै आएको सौर्यले अबको ६ महिनाभित्र ३ ओटा एटीआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिए । नयाँ जहाज खरिद गरेसँगै नयाँ गन्तव्यमा उडान गर्ने योजना सौर्यको छ । सौर्यले भित्र्याउने नयाँ जहाज पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने जनाएको छ । हाल बिराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ ।