जेट एयरवेजको सङ्कट गहिरियो, २५ भन्दा बढी विमान बन्द

विमानस्थललाई भाडा नतिरेपछि एयरलाइन्सले गत मार्च २ मा आफ्नो दुई वटा विमान बन्द गरेको हो । गत हप्ता नागरिक उड्डयनका सचिव प्रदीपसिंह खारोलाले जेट एयरवेजले फ्लाइट रद्द गर्ने सङ्ख्या उच्च रहेको जानकारी दिएका थिए ।

एजेन्सी । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको आर्थिक अवस्था झनै कमजोर भएको छ । उसले भुक्तानी नगरेपछि आफ्ना दुई ओटा हवाईजहाजलाई बन्द गर्न लागेको एयरलाइन्सले सोमबार बताएको छ ।

भुक्तानी नगरेका कारण जेट एयरवेजले एक महिनाभित्रमा नयाँ जहाज बोइङ ७३७, बोइङ ७३७ एनजी र एइरबस ए३३० सहित २५ वटा विमान बन्द गरिसकेको छ । आफ्नो दैनिक ६०० फ्लाइटमध्ये करिब दुई सय घरेलु उडान एयरलाइनले रद्द गर्दै आएको छ ।

संकटग्रस्त अवस्थामा रहेको जेट एयरवेज अहिले यो समस्याबाट बाहिर आउन नयाँ लगानीकर्ताको बाटो हेरिरहेको छ । विमानस्थल व्यवस्थापनसँग सल्लाह गरिरहेको एयरलाइन्सले बताएको छ ।

नागरिक उड्डयनका वरिष्ठ महानिर्देशकका अनुसार मुम्बई आधारित यो जेट एयरवेजका उडान गत डिसेम्बरसम्म प्रतिदिन १०० रद्द हुँदै आएका थिए । तर त्यसयता त्यो सङ्ख्यालाई डबल बढाएर दैनिक दुई सय उडान रद्द गराइँदै छ ।

विमानस्थललाई भाडा नतिरेपछि एयरलाइन्सले गत मार्च २ मा आफ्नो दुई वटा विमान बन्द गरेको हो । गत हप्ता नागरिक उड्डयनका सचिव प्रदीपसिंह खारोलाले जेट एयरवेजले फ्लाइट रद्द गर्ने सङ्ख्या उच्च रहेको जानकारी दिएका थिए ।

भाडा नतिरेको कारण देखाउँदै गत फेब्रुअरी ७ मा चारवटा विमान बन्द गरेको घोषणा गरेको एयरलाइन्सले २३ फेब्रुअरीमा पनि सोही कारण देखाउँदै आफ्ना दुई विमान सञ्चालन रोक्यो । फेब्रुअरी २७ र २८ मा उसले सात र छ ओटा विमानको सञ्चालन क्रमशः रोक्यो । हालै उसले सोही कारण देखाउँदै मार्च १ र २ मा दुई ओटा विमान बन्द गर्यो ।

जेट एयरवेजमा २४ प्रतिशत सेयर भएको आबुधाबी आधारित एयरलाइन्सले आर्थिक संकटग्रस्त एयरलाइन्समा कोष लगानी गर्ने विश्वास गरिएको छ । तर उसले स्टेट बैङ्क अफ इन्डियाले प्रस्ताव गरेको बैङ्क नेतृत्वको रिजोलुसन प्लान बीएलआरपी अनुमोदन भएपछिको सर्तमा मात्र लगानी गर्नेछ ।

यसैबीच जेट एयरवेजका संस्थापक नरेश गोयलले एयरलाइन्स बोर्डको अध्यक्ष पद परित्याग गर्न सक्ने देखिएको छ । सम्पूर्ण सरोकारवालाबाट सो बीएलआरपिको अनुमोदन हुन समय लाग्ने देखिन्छ । तर एयरलाइन्सलाई भने आफ्ना पाइलट, भेन्डर र विमान भाडामा दिने कम्पनीलाई अन्तरिम भुक्तानी गर्न ठूलो कोषको खाँचो छ ।