तिर्खाले एक वर्षयता १० करोडभन्दा बढी रकम सोही क्यासिनोमा हारेको उनका साथीहरुको दाबी छ । स्रोतका अनुसार उनलाई क्यासिनोले चिटिङ गरेर ठूलो रकम लिएपछि उनी तनावमा थिए । तिर्खाको आत्महत्याको कारण क्यासिनो लत भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
काठमाडौं । गत एक वर्षदेखि काठमाडौंको सिफलस्थित सुधीर रेग्मीको घरमा भाडामा बस्दै आएका भारतीय नागरिक मनोजकुमार तिर्खाले फागुन १९ गते आत्महत्या गरे ।
रेग्मीको घरमा फ्ल्याट भाडामा लिएर कपडाको व्यापार गर्दै आएका तिर्खा घरको फ्यानमा पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला परेका थिए । काठमाडौंस्थित होटल मल्लमा सञ्चालित क्यासिनो बेलिज नेपालमा नियमित जुवा खेल्न जाने गरेका तिर्खाको आत्महत्याको कारण पनि सोही क्यासिनो रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तिर्खाको जानकारका अनुसार तिर्खालाई क्यासिनोले भीआईपी गेस्टका रुपमा लिँदै आएको थियो । तिर्खा जुवा खेल्न नगएको दिनमा क्यासिनोको गाडी नै लिन घरमै आउने गरेको थियो । उनलाई भीआईपी खेलाडीको रुपमा क्यासिनोमा कार्डसमेत दिइएको थियो । तिर्खाको कार्ड नम्बर ६९२ रहेको क्यासिनो स्रोतले जानकारी दियो ।
तिर्खाले एक वर्षयता १० करोडभन्दा बढी रकम सोही क्यासिनोमा हारेको उनका साथीहरुको दाबी छ । स्रोतका अनुसार उनलाई क्यासिनोले चिटिङ गरेर ठूलो रकम लिएपछि उनी तनावमा थिए । तिर्खाको आत्महत्याको कारण क्यासिनो लत भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
‘एक वर्षदेखि नेपालमा रहेका तिर्खा क्यासिनो नियमीत जाने गरेको उनका साथीहरुबाट खुल्यो,’ काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले भने । नेपालीहरु जुवाघर क्यासिनो जान प्रतिबन्द लगाइए पनि सो क्यासिनोमा भने नेपालीलाई छिराउने गरेको स्रोतले जानकारी दियो । क्यासिनोका एक सुुरक्षा गार्डका अनुसार क्यासिनोमा सञ्चालक आफैंले भारतीय नागरिकको नक्कली कार्ड बनाएर नेपालीहरुलाई छिराउँदै आएका छन् ।
‘ठूलो रकममा जुवा खेल्नेलाई भारतीय नागरिक बनाएर यहाँ भित्र्याइन्छ’, ती सुरक्षा गार्डले भने, ‘त्यसमा प्रहरीले पनि चासो दिँदैन ।’ प्रहरीलाई सो कुराको जानकारी भए पनि कुनै बेवास्ता गर्दै बसेकोसमेत ती सुरक्षा गार्डले बताए ।
पर्यटन विभागबाट क्यासिनो सञ्चालनको अनुमति नै नपाएको क्यासिनो बेलिजले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर सञ्चालन गरिएको छ । तत्कालीन न्यायाधीश दीपकराज जोशीले अन्तिरम आदेश दिएका थिए । कुनै बेला क्यासिनोमा आफैं जुवा खेलाडीका रुपमा रहेका ज्ञानेन्द्र श्रेष्ठलगायतले क्यासिनो चलाएका छन् ।
कर्मचारीसँग मिलेर उनले क्यासिनो साङ्ग्रिलामा चिटिङ गरेको सञ्ांलकले जानकारी पाएपछि त्यहाँ जान प्रतिबन्ध लगाइएको थियो । स्रोतका अनुसार केही दिनअघि सिक्किमबाट आएका लाक्पा शेर्पाले जितेको ४० लाख रकममा चिटिङ भएको भन्दै प्रहरीको मद्दत मागेको स्रोतले जानकारी दियो ।
शेर्पाले जितेको रकम पचाउन उनले चिटिङ गरेको नाटक गरेको र आफू निकटका प्रहरीलाई त्यसबारे जानकारी गराएको समेत स्रोतको दाबी छ ।