कर नतिर्ने पोखराका प्याराग्लाइडिङ बुधबारदेखि उड्न नपाउने

पोखरामा प्याराग्लाइडिङ सञ्चालनका लागि करिब ६० ओटा कम्पनीले अनुमति लिएको भए पनि हाल ४० ओटा कम्पनीले मात्र उडान भर्दै आएको जनाएको छ । तीमध्ये पनि दुई ओटा कम्पनीले मात्र महानगरमा कर बुझाएको जानकारी दिए ।

काठमाडौं । कर नतिरे बुधबारबाट पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ उडानमा रोक लगाउने भएको छ । कर तिर्न महानगरले मङ्गलबारसम्म अन्तिम म्याद दिएको छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि महानगरले तोकेको कर धेरैजसो प्याराग्लाइडिङ कम्पनीहरुले नबुझाएको भन्दै आज (मङ्गलबार)सम्म अन्तिम म्याद दिइएको महानगरका प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनले हालसम्म दुई ओटाले मात्र कर तिरेको भन्दै कर नबुझाउने कम्पनीलाई बुधबारबाट उडान गर्न नदिने बताए ।

पोखरामा प्याराग्लाइडिङ सञ्चालनका लागि करिब ६० ओटा कम्पनीले अनुमति लिएको भए पनि हाल ४० ओटा कम्पनीले मात्र उडान भर्दै आएको जनाएको छ । तीमध्ये पनि दुई ओटा कम्पनीले मात्र महानगरमा कर बुझाएको जानकारी दिए ।

पटक पटक कर तिर्न तोकता गर्दा पनि बेवास्ता गरेको बताउँदै मङ्गलरबासम्म कर नतिर्ने कम्पनीलाई उडान गर्न नदिइने प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

महानगरले आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । आर्थिक वर्ष २०७२/०७३ देखि नै कर नतिरेको उनको भनाइ छ ।

पर्यटकीय नगरीका रुपमा स्थापित पोखरामा पछिल्लो समय प्याराग्लाइडिङ गर्न जानेहरुको सङ्ख्या बढिरहेको छ । पोखरा घुम्न जाने विदेशी एवम् स्वदेशी पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्दै आएको छ ।