पोखरामा प्याराग्लाइडिङको सोलो उडान बन्द, कर तिर्न पनि एक हप्तै अल्टिमेटम

क्यान पोखराका प्रमुख गुरागाइँले ज्यान गुमाएका विदेशी पाइलटहरु ल्याउने दुई कम्पनी ब्लु स्काई र फन टायर्स प्याराग्लाइडिङ कम्पनीलाई स्पस्टीकरण सोधिएको जानकारी दिए । उनले के कारणले दुर्घटना भयो भन्ने विषयमा केही दिन भित्रै लिखित जवाफ दिन निर्देशन दिएको बताए ।

काठमाडौ । तीन दिन लगातार प्याराग्लाइडिङ दुर्घटना भएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण(क्यान)ले तत्कालका लागि सोलो उडान बन्द गरेको छ । क्यान पोखराका प्रमुख भोलाप्रसाद गुरागाइँले केही दिनका लागि सोलो (एक्लै उड्ने ) उडान राकेको जानकारी दिए ।
प्याराग्लाइडिङ दुर्घटना हुँदा तीन दिनमा तीन जनाको ज्यान गइसकेको छ ।

क्यान पोखराका प्रमुख गुरागाइँले ज्यान गुमाएका विदेशी पाइलटहरु ल्याउने दुई कम्पनी ब्लु स्काई र फन टायर्स प्याराग्लाइडिङ कम्पनीलाई स्पस्टीकरण सोधिएको जानकारी दिए । उनले के कारणले दुर्घटना भयो भन्ने विषयमा केही दिन भित्रै लिखित जवाफ दिन निर्देशन दिएको बताए ।

फागुन महिनामा मात्र सोलो उडानका लागि विदेशी नागरिकहरुले २ सय १६ जनाले उडान अनुमति लिएको जनाएको छ । सोलो उडानका लागि क्यानले १५ दिनको मात्र अनुमति दिने गरेको छ ।

कर तिर्न महानगरले थप्यो एक हप्ता समय

यसैबीच चारबर्ष देखि कर नतिरी सञ्चालनमा रहेका पोखराका प्याराग्लाइडिङ कम्पनीलाई महानगरपालिकाले कर तिर्न १ साताको म्याद दिएको छ ।

महानगरले मङ्गलबारसम्म कर नबुझाउनलाई बुधबारबाट उडानमा रोक लगाउने चेतावनी दिएपछि प्याराग्लाइडिङ सञ्चालकहरुले १ साताको समय माग गरेको थियो ।

महानगरपालिकामा भएको छलफलमा व्यवसायीहरुले १ साता भित्रमा कर तिर्ने र कर नतिर्ने कम्पनीहरुलाई उडान रोक्न आफूहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि म्याद थप गरिएको महानगरका प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार प्याराग्लाइडिङ कम्पनीले महानगरपालिकालाई २०७२ देखि हालसम्मको गरी ८६ हजार रुपैयाँ तिर्नुपर्छ । महानगरले आर्थिक वर्ष २०७२÷०७३ र २०७३÷०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४÷०७५ मा ५० हजार तथा २०७५÷०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । आर्थिक वर्ष २०७२÷०७३ देखि नै कर नतिरेको उनको भनाइ छ ।

पोखरामा प्याराग्लाइडिङ सञ्चालनका लागि करिब ६० ओटा कम्पनीले अनुमति लिएको भए पनि हाल ४० ओटा कम्पनीले मात्र उडान भर्दै आएको जनाएको छ । तीमध्ये पनि दुई ओटा कम्पनीले मात्र महानगरमा कर बुझाएको जानकारी दिए ।