नेपालकै उत्कृष्ट सम्पदा फेवाताल किनारकाे कोमागाने पार्क पुनर्निर्माण हुँदै

तालको छेऊमा अर्को बसुन्धरा पार्कसमेत छ । सो ठाउँमा विभिन्न समयमा मेला महोत्सव हुने तर संरक्षणप्रति उति चासो नदिँदा बसुन्धरा पार्कले पनि आफ्नो सुन्दरता गुमाइरहेको छ ।

पोखरा । नेपालकै उत्कृष्ट सम्पदा फेवाताल किनारकाे कोमागाने पार्क पुनर्निर्माण हुँदै छ । पुनर्निर्माणका लागि पोखरा महानगरपालिका वडा नं ६ ले चासो देखाएको छ ।

पोखराको आकर्षक फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र विभिन्न देशका कलाकारले बनाएका कलाकृतिसमेत ओझेलमा परेका थिए । झारभित्र हराएर बेवारिसे बनिरहेका तिनै कलाकृतिलाई पछिल्लो समय पोखरा महानगरपालिका वडा नं ६ ले संरक्षणका लागि चासो दिएको हो ।

पार्कमा सिधै गाडि लैजाने, कतिपय विदेशीहरुले क्याराभान गाडि त्यहीं पार्किङ गर्ने र तिनै कलाकृतिमाथि कपडा सुकाउने गरेका दृश्यसमेत देखिन्थे । तालको छेऊमा अर्को बसुन्धरा पार्कसमेत छ । सो ठाउँमा विभिन्न समयमा मेला महोत्सव हुने तर संरक्षणप्रति उति चासो नदिँदा बसुन्धरा पार्कले पनि आफ्नो सुन्दरता गुमाइरहेको छ ।

‘प्राकृतिक सम्पदा जोगाउन हामीले पनि अभियान थालेका छौं । यसै सन्दर्भमा कोमागाने पार्कको सौन्दर्यका लागि हामीले प्रयास थालेका हौं,’ वडाअध्यक्ष जगत पहारीले भने, ‘पार्कको महिमा र महत्त्व कायम राख्न वडाले काम सुरु गरेको छ ।’ ठूलो बजेट नभए पनि वडाकै खर्चमा अहिले ३÷४ लाखको अनुमानित खर्चबाट पार्क व्यवस्थापनका लागि प्रस्तर मूर्ति संरक्षणमा जोड दिँदै वरिपरी गिटीले सजाइएको र कलाकारको नेमप्लेट राखिएको छ । गाडी लैजान नमिल्ने गरी बाटो बन्द गरिएको छ । चौरलाई सम्याएर एकैनासको बनाउन डोजर लगाइएको छ । उनले पार्कमा रहेको पानीको फोहोरालाई पनि व्यवस्थित गर्ने र विरुवा रोपेर पार्कलाई हरियाली बनाउने योजना सुनाए ।

कोमागाने पार्कमा केदारेश्वर मन्दिर अवस्थित छ । मन्दिरमा भक्तजन आउने पूजाआजा गर्ने, विवाह भोजभतेर हुने, तर कुनै व्यवस्थित नियम नहुँदा त्यसले पार्कको सौन्दर्य विनाश हुँदै गएको बताउँछन् राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष एव सामाजिक अभियन्ता रामबहादुर पौडेल । ‘प्राकृतिक सुन्दरताको रुपमा जापानको कोमागाने सहर र पोखराबीच भगिनी सम्बन्ध स्थापना भई रमणीय पार्क निर्माण गर्ने सम्झौता भएको थियो,’ पौडेलले भने, ‘तर, कार्यान्वयमा सरोकारवालाले चासो दिएनन् ।’ दुवै सहरका नागरिकबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा हेरिएको यस पार्कलाई व्यवस्थित बनाउनेभन्दा पनि जापान भ्रमणमा रमाउने गरेको उनको भनाइ छ । पौडेलले भने, ‘यस पार्कभित्र देश विदेशका नागरिकले बनाएका अन्तर्राष्ट्रियस्तरका ऐतिहासिक महत्त्व राख्ने प्रस्तर मूर्ति छन् । विभिन्न कलाकृतिमार्फत राष्ट्रिय महत्त्व झल्काउने मौलिक एवम् रमणीय पार्कका रुपमा विकास गर्नुपर्छ ।’

उनले केही समयअघि बृहत् पोखरा सरसफाइ अभियानमार्फत पार्कको सरसफाइ गरिएको बताए । पार्कमा केदारेश्वर मन्दिर संरक्षण समितिले शुल्क असुल गरी अनुमति दिने प्रचलनले सम्पदा संरक्षणमा जटिलता आएको भन्दै वडाले चासो दिएर कार्य प्रारम्भ गरेकोमा खुसी हुँदै सहजीकरणका लागि तयार रहेको बताए ।

स्थानीय अधिवक्ता भगवती पहारी भन्छिन्, ‘एउटा रमणीय स्थललाई संरक्षण र व्यवस्थापन गर्न नसक्दा बेवारिसे भई सवारी साधनको क्याम्पिङ एवम् पार्किङस्थल, फुटबल मैदान र भोजभतेर लगायतका फोहोरमैलाको डम्पिङ स्थलमा परिणत भइरहेको थियो । यसको संरक्षणमा पर्यटन व्यवसायीले पनि चासो दिनुपर्छ र वडाले थालेको प्रयास प्रशंसनीय छ ।’ उनले केही दिन चासो देखाउने र फेरि हराउने हुँदा यसलाई दीर्घकालीन संरक्षण व्यवस्थापन गर्दै बगैंचाको सौन्दर्यलाई जोगाउनु पर्ने बताइन् । केही समयअघि बसुन्धरा पार्कमा समेत केबलकार निर्माणको प्रक्रिया अघि बढाइएको भन्दै सर्वोच्चको फैसलाले रोकेको स्मरण गरिन् ।

जापानको कोमागाने सहर र पोखराबीच २००२ मा भगिनी सम्बन्धमा स्थापित भएको थियो । यसबारेमा जापानको कोमागाने सहरका तत्कालीन मेयर मासाजुमी नाकाहारा र पोखराका मेयर कृष्ण थापाबीच सम्झौता भएको थियो । सम्झौतामा दुई देशबीचको संस्कृति आदान प्रदान, भौतिक पूर्वाधार निर्माण, नागरिक तथा विद्यार्थी भ्रमण एवम् होमस्टे कार्यक्रमहरु रहेको पोखरा कोमागाने सपोर्ट ग्रुपका अध्यक्ष एवम् पोखरा महानगरपालिकाका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार प्रत्येक वर्ष पोखराबाट प्रतिनिधिहरु जापान जाने र जापानबाट पनि विद्यार्थीलगायत प्रतिनिधिहरु नेपाल आउने क्रम जारी छ । रासस