लाभांश घोषणाापछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य उकालो लाग्यो, ४ दिनमै लगानीकर्ताले कमाए ६३ रुपैयाँ

आइतबार गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपछि उसको सेयर मूल्य निरन्तर उकालो लागेको हो । सेयर बजार घटिरहेका बेला नेपाल लाइफका लगानीकर्ताले कमाइरहेका छन् ।

काठमाडौं । सेयरधनीलाई दिने लाभांश घोषणापछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य उकालो लागेको छ । आइतबार गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपछि उसको सेयर मूल्य निरन्तर उकालो लागेको हो । सेयर बजार घटिरहेका बेला नेपाल लाइफका लगानीकर्ताले कमाइरहेका छन् ।

अघिल्लो बिहीबार कम्पनीको सेयर प्रतिकित्ता १ हजार १५ रुपैयाँमा कारोबार भएको थियो । लाभांश घोषणापछि कम्पनीको सेयर बढेर बुधबार १ हजार ७८ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य उकालो लाग्नुका साथै बढी कारोबार भइरहेको छ ।

अघिल्लो वर्ष कम्पनीले ७१ प्रतिशत लाभांश दिएको थियो । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत अर्थात १ करोड ९ लाख ९२ हजार ३२१ कित्ता बोनस सेयर र २३.५ प्रतिशत अर्थात १ अर्ब ३ करोड ३२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बिमा समितीको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको वित्तीय अवस्था सबल हुनुका साथै राम्रो लाभांश दिने आशमा लगानीकर्ताको विश्वास बढ्दै गएको छ ।