कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँ समेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गरेको हो ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँ समेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गरेको हो ।
यसअघि कम्पनीले स्थानीयबासिन्दालाई चुत्तापुँजीको १० प्रतिशत अर्थात १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्दा आधा मात्र बिक्री भएको थियो । आईपीओ निष्कासन बन्द छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
आईपीओका लागि न्युनतम ५० देखि अधिकतम ८० हजार कित्तासम्म आवेदन दिन पाइने सिद्धार्थले जानकारी दिएको छ । कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात ३६ हजार ३२२ कित्ता कम्पनीका कर्मचारी र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
आईपीओ बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी बढेर १ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । माउन्टेनले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । हालसम्म ९८ प्रतिशत काम सकिएको छ ।आउँदो चैतदेखि आयोजनाबाट बिजुली बल्ने छ ।
आयोजनाको अनुमानित लागत ४ अर्ब २८ करोड १७ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत पनि १९ करोड ८२ लाख २७ हजार रुपैयाँ रहेको छ । आयोजनाबाट सर्वसाधारणको लगानी फिर्ता ८ वर्ष २ महिना रहेको छ । आर्थिक वर्ष ०७७/०७८ सम्म कम्पनीको खुदसम्पत्ति ऋणात्मक भई ९७/९८ रुपैयाँ हुने छ । यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा मात्र हुने कम्पनीले जानकारी दिएको छ । इक्रा नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ ।