काठमाडाैं । बर्दिया राष्ट्रिय निकुञ्ज एसिया प्यासिफिक क्षेत्रबाट दीगो गन्तब्यका रुपमा पुरस्कृत भएको छ । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो पर्यटन मेला आइटिवीमा सयवटा दिगो पर्यटन गन्तब्यभित्र एसिया प्यासिफिक क्षेत्रबाट बर्दिया पुरस्कृति भएको हो ।
फागुन २२ मा आयोजित एक भब्य समारोहबीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् ।
डा. अल्बर्ट सल्मान प्रमुख रहेका उक्त सय दीगो पर्यटन गन्तब्यहरुको छनोट प्रक्रियामा विशेषत दीगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो । यस पुरस्कारसँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्क दीगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्था हो ।
नेपालले विशेषत दीगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दिया लगागतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो बृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जको यो विशेषताहरुलाई विश्वव्यापी जानकारी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गरेका हुन् । उक्त सम्मान समारोहमा बोल्दै जोशीले बर्दिया विशिष्ट दीगो गन्तब्य भएको बताए र सहकार्य गर्ने सबै संस्था विशेषत डब्लु डब्लु एफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, इको टुरिज्म सोसाइटी बर्दिया लगायत स्थानियहरुलाई धन्यवाद दिएका छन् ।