नौ हेलिकप्टरबाट १३ सिट निकालियो

गत फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित व्यवसायी र कर्मचारी सवार हेलिकप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र हेलिकप्टर सोसाइटी अफ नेपालबीच १३ ओटा सिट निकाल्ने सहमति भएको थियो ।

काठमाडौं । सञ्चालनमा रहेका नौ ओटा हेलिकप्टरबाट १३ ओटा सिट निकालिएको छ । गत फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित व्यवसायी र कर्मचारी सवार हेलिकप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र हेलिकप्टर सोसाइटी अफ नेपालबीच १३ ओटा सिट निकाल्ने सहमति भएको थियो ।

पर्यटनमन्त्री चढेको हेलिकप्टरमा ७ जना थिए । क्षमताभन्दा बढी यात्रु भएकै कारण हेलिकप्टर दुर्घटना भएको हुन सक्ने अनुमान गर्दै क्यानले ७ ओटा सिट रहेको हेलिकप्टरबाट १÷१ ओटा हटाएर ६ ओटा मात्र राख्न सुझाव दिएको छ ।

हेलिकप्टर सोसाइटीका महासचिव योगराज कँडेलले क्यानसँग भएको छलफलपछि नौ ओटा हेलिकप्टरमा रहेका १३ ओटा बेन्चसिट निकालिएको जानकारी दिए । उनले शुक्रबार बिहानबाटै बेन्चसिट हटाएर ६ जना यात्रु मात्र लिएर हेलिकप्टरले उडान सुरु गरेको बताए ।

हाल सिम्रिकसँग ३, हेलीएभरेस्ट तथा श्रीसँग २–२ तथा मनाङ, कैलाश, माउन्टेन, एयर डाइनेस्टी, समिट तथा अल्टिच्युटसँग १–१ ओटा हेलिकप्टर छन् । सञ्चालनमा रहेका १० ओटा हेलिकप्टर कम्पनीमध्ये प्रभु हेलिकप्टरमा बेन्चसिट छैनन् ।

यसैबीच क्यान र हेलिकप्टर सोसाइटीबीचको सहमतिमा सगरमाथा क्षेत्रमा रहेको गोरक्षेप हेलिप्याड तत्कालका लागि बन्द गर्ने निर्णय भएको छ । आपत्कालीन उद्धारका लागि बाहेक अहिलेको हेलिप्याड प्रयोगमा नगर्ने सहमति भएको जनाइएको छ ।