झापा गोल्डकपको उपाधिका लागि आर्मी र झापा भिड्ने

झापा। क्यामरूनी क्लबलाई हराउँदै डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा पुगेको छ।

शनिबार झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको अन्तिम सेमिफाइनलमा पाहुना टोली क्यामरूनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।

यो सँगै आर्मीको उपाधि भिडन्त यसपटक पनि घरेलु टोली झापासँग हुनेछ।

आर्मीको जितमा दाउफिन्सका खेलाडीले आत्मघाति गोलको उपहार दिए।

खेलको २३ औं मिनेटमा भरत खवासको क्रस पासमा अनमार्क रहेका नवयुग श्रेष्ठलाई रोक्न खोज्दा दाउफिन्सका सिलो नाङगालाई लाग्दै बलले जाली चुमेको थियो।

पहिलो हाफमा १-० ले पछि परेको दाउफिन्सले खेल अवधिभर दर्जन बढी शक्तिशाली प्रहार गरे पनि गोल हुन नसक्दा पराजित हुन पुग्यो।

खेलको ४५ औं मिनेटमा दाउफिन्सका अहन्दा इशाको शक्तिशाली प्रहारलाई आर्मीका गोलरक्षक बिकेश कुथुले उत्कृष्ट बचाउँ गरेका थिए।

यस्तै खेलको ५२ औं मिनेटमा टीना टीनाको प्रहार गोलरक्षक कुथुले फिर्ता गरिदिएपछि दाउफिन्सले गोल गर्ने अवसरबाट बञ्चित भयो।

त्यस्तै खेलको ५७ औं मिनेटमा दाउफिन्सका पेटाङगाले खाली पोष्टमा गोल गर्न नसक्दा बराबरी गर्ने मौका गुमायो।  ६३ औं मिनेटको अर्को प्रहार कुथुले बचाए।

यता खेलको ३१ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले खाली पोष्टमा गरेको प्रहार बाहिरिँदा अग्रता बढाउने मौका गुमायो।

यो जितसँगै झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले तेस्रो पटक फाइनल खेल्ने भएको छ। यसअघि दुबै पटक उपाधि जितेको आर्मीका लागि फेरि घरेलु टोली तगारो बन्नेछ।

आर्मीले फाइनल जितेका सबै खेल झापासँगको भेटमा हो। झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि जित्न सकेको छैन।