भ्रमण बर्ष २०२० को युरोपमा प्रचार सुरु

पछिल्लो समय युरोपबाट धेरै पर्यटकहरु नेपालमा आइरहेको बेला पर्यटन बोर्डले प्रचारलाई त्यस तर्फ बढि ध्यान दिएको हो । बोर्डले मार्च ७ बर्लिनको लोगेनहाउस हलमा कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौ । नेपालले मनाउन लागेको भ्रमण बर्ष २०२० को प्रचार प्रसार युरोपमा सुरु भएको छ । नेपाल पर्यटन बोर्डले युरोपका विभिन्न मुलुकमा प्रचारलाई तिब्र पारेको छ ।

पछिल्लो समय युरोपबाट धेरै पर्यटकहरु नेपालमा आइरहेको बेला पर्यटन बोर्डले प्रचारलाई त्यस तर्फ बढि ध्यान दिएको हो । बोर्डले मार्च ७ बर्लिनको लोगेनहाउस हलमा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली राजदूत रमेश प्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले संयुक्त रूपमा नेपाल भ्रमण बर्ष २०१९, युरोप को शुभारम्भ गरेका छन् । उक्त अवसरमा जर्मनीका उच्च अधिकारीहरू, टुर तथा ट्राभल व्यवसायी, नेपाली समुदाय, कूटनैतिक समूदाय जर्मनी स्थित नेपालका मित्रहरू लगायत ३०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन मन्त्री जोहन अमराटुगा, जमैकाका पर्यटन मन्त्री इडमुण्ड भर्तेल तथा संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठन का पूर्व महासचिव टलिव रिफाइ को उपस्थिति रहेको थियो।

कार्यक्रममा हिमालयन ट्रेलस ज्ष्mबथिबल त्चबष्कि नामक पुस्तकका जर्मन लेखक पिटर हेजिन तथा २५ बर्ष सम्म निरन्तर आइटीबी मेलामा पर्यटन बोर्डलाई सहयोग गर्दै आउनु भएका जर्मनी स्थित अवैतनिक पर्यटन प्रतिनिधि दिल गुरूङ्गलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजदूत खनालले नेपाल भ्रमण बर्ष २०२० को उद्देश्य अनुरूप सफलता हासिल गर्न सम्बन्धित सबैको सहयोगको आव्हान गरेका छन् । उनले नेपाली राजदूतावासमा एक उच्चस्तरीय समिति गठन गरिने र सो मार्फत जर्मनी लगायत युरोपका अन्य देशहरूमा समेत नेपाली पर्यटन प्रबद्र्धनात्मक कार्यक्रमहरू अयोजना गरिने जानकारी गराएका छन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण बर्ष २०२० का विभिन्न पक्षहरू बारे उल्लेख गर्दै सन २०२० सम्ममा २० लाख पर्यटक नेपालमा स्वागत गर्न अवश्यक पर्ने पूर्वाधारहरूको विकास द्रुत गतिमा भैरहेको बताएका छन् । नेपाल अनुभव पर्यटनका लागि सही गन्तब्य भएको र २०२० को अभियानका लागि सम्पूर्ण पर्यटन क्षेत्र नै एकजुट भएर अघि बढेको उनको भनाइ छ ।
जमैकाका माननीय पर्यटन मन्त्रीले नेपाल जीवनमा कम्तिमा एक पटक भ्रमण गर्नै पर्ने मुलुक रहेको र नेपाल र नेपाली जनतामा रहेको दृढ इच्छाशक्ति र पुर्नउत्थानशिलताको प्रशंसा गरेका छन् ।
संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनका पूर्व महासचिवले नेपालको पर्यटन व्यवसायको भविष्य उज्वल रहेको र जीवनमा एक अलौकिक आनन्द प्राप्त गर्ने हो भने कम्तिमा एक पटक नेपालको भ्रमण गर्नका निमित्त उपस्थित सबैमा आव्हान गरे । पर्यटन बोर्डका बरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले भ्रमण वर्षको अभियान सफल बनाउन सहकार्य गर्न अनुरोध गरेकी छिन् ।