बैङ्कको ब्याजदर नघटेसम्म सेयर बजारले गति लिँदैन : नेसनल मर्चेन्ट बैङ्कर लिमिटेडका प्रबन्ध निर्देशक नवीन बाँस्कोटाकाे अन्तर्वार्ता

सेयर बजार टाठाबाठाले कमाउने क्षेत्र हो । जोसँग बढी सूचना, पहुँच र कर्पोरेट क्षेत्र नजिक छ, तिनीहरुले छिटो सूचना पाउने गर्छन् । कहिले बजारबाट बाहिरिने भनेर नीति बनाउन सक्छन् । सामान्य व्यक्ति बजारमा प्रवेश गर्दा घाटा खान सुरु गरिसकेका हुन्छन् ।

स्नातकोत्तरसम्म अध्ययन पूरा गरेपछि १३ वर्षअघि पुँजी बजारमा प्रवेश गरेका नवीन बाँस्कोटा पुँजी बजारमा परिचित नाम हो । उनले ५ वर्षदेखि नेसनल मर्चेन्ट बैङ्करमार्फत पुँजी बजारमा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट)को काम गरिरहेका छन् । उनले लगानी व्यवस्थापन मात्र हैन सेयरमा लगानी गर्नका लागि सर्वसाधारणलाई सुझाव पनि दिँदै आएका छन् । लगानीकर्ताको अवस्था र कम्पनीको विश्लेषण गरेर मात्र उनले सेयरमा लगानी गर्न सुझाव दिँदै आएका छन् । उनको मर्चेन्ट बैङ्करले संस्थागत र व्यक्तिगत गरी ३०० भन्दा बढीलाई पोर्टफोलियो म्यानेजमेन्टको सेवा दिइरहेको छ । मर्चेन्ट बैङ्करले ५० करोड रुपैयाँभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गरिरहेको छ । पुँजीबजारमा लगानी गर्नुअघि कम्पनीको विश्लेषण गर्नुपर्ने बताउने बाँस्कोटासँग पुँजीबजारको विकास र विस्तारका विषयमा केन्द्रित रहेर क्यापिटल नेपालले गरेको कुराकानीको सारसङ्क्षेप

नेसनल मर्चेन्ट बैङ्कर लिमिटेड खोल्ने योजना कसरी आयो ?

भारतमा सन् ९० दशकदेखि यो अवधारणा आइसकेको थियो । त्यहाँ ठूलो बजारको सिर्जना भइसेकेको थियो । त्यहाँ हुन्छ भने नेपालमा किन नहुने ? भन्ने सोचका साथ नेसनल मर्चेन्ट बैङ्करको स्थापना गरिएको हो । पुँजीबजार संवेदनशील हुन्छ, सानो सानो घटनाले बजारलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले व्यवस्थित ढङ्गबाट लगानीकर्ताको लगानी व्यवस्थापन (फन्ड म्यानेज) गर्ने सोचको आवश्यकता देखेर ५ वर्षअघि नेसनल मर्चेन्ट बैङ्करको स्थापना गरिएको हो । अहिले व्यक्तिगत र संस्थागत गरी ३०० जना सर्वसाधारणलाई लगानी व्यवस्थापनमा सहयोग गरिरहेका छौं । हामीले अहिले ५० करोड रुपैयाँभन्दा बढीको लगानी व्यवस्थापनको काम गरिहेका छौं ।

मर्चेन्ट बैङ्करले लगानीकर्तालाई कस्तो सेवा दिइरहेको छ ?

हाम्रो नियामक निकाय नेपाल धितोपत्र बोर्ड हो । बोर्डअन्तर्गत रहेर काम गर्ने भनेको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) हो । पोर्टफोलियो म्यानेजमेन्टअन्तर्गत नियामकले तोकेको क्षेत्र पुँजीबजार हो । पुँजीबजारमा एकद्वार नीतिअन्तर्गत साधारण सेयर (आईपीओ) व्यवस्थापनदेखि हकप्रद सेयर हाल्दिने र दोस्रो बजारमा सेयर किनबेच गराउनेसम्मको सेवा दिन्छौं । लगानीकर्तामा लोभ र डर दुवै हुन्छ । हामी तथ्यमा आधारित रहेर उहाँहरुको लगानी व्यवस्थापन गर्छौं । एउटा व्यक्तिले पुँजीबजारमा लगानी गर्न धेरै पक्षको सामना गर्नुपर्ने हुन्छ, जस्तै– सूचना व्यक्तिको पहुँचमा नहुन सक्छ र उसले गर्न पनि सक्दैन । जतिबेला सञ्चार माध्यमहरुमा आएको समाचारले बजारलाई प्रभावित पारिसकेको हुन्छ, त्यसबेला सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुन्छ । त्यसमा आउने रियल भ्यालु कति छ भनेर हामीले विश्लेषण गरेका हुन्छौं ।

लगानीकर्ता हामीकहाँ आएपछि उहाँहरुको मनोविज्ञान बुझ्ने काम गर्छौैं । हामी लगानीकर्ताको जोखिम लिने चाहना र क्षमता दुवै हेर्छौं । यी दुई पक्षलाई मर्ज गराउँदा जुन कम्पनीको राम्रो पोर्टफोलियो बन्छ त्यसमा मात्र हामी लगानी गरिदिन्छौं । लगानीकर्ताबाट प्राप्त उत्तरले कसरी कस्ता कम्पनीमा लगानी गर्ने भन्ने निर्देशन गरेको हुन्छ । अर्को कुरा हामी लगानीकर्ताको क्लियर अब्जेटिभ पनि हेर्छौं । जस्तो केही लगानीकर्ता आउँदा के भन्नुहुन्छ भने, ‘म मासिक ६० हजार रुपैयाँ आम्दानी गरिरहेको छु र एक वर्षपछि अवकाश पाउँदै छु । मेरो अहिलेको आम्दानीको स्तर कायम गर्न न्यूनतम ६० हजार रुपैयाँ चाहिन्छ । ल अब भन्नुस् मैले अहिले कति एडन गर्नुपर्ला ? मैले कति रकम थप्दै गएँभने लक्ष्य पूरा हुन्छ ?’

अर्को कुनै एक लगानीकर्ताले आफ्नो छोरा वा छोरीलाई १८ वर्षपछि डाक्टर पढाउने चाहना राख्नुहुन्छ । अहिलेको शुल्कको अवस्था हेर्दा त्यसबेला १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ला र उहाँले मसँग १० लाख रुपैयाँभन्दा बढी खर्च गर्ने क्षमता पनि छैन र १० लाख रुपैयाँलाई १ करोड रुपैयाँ बनाउने वित्तीय योजना कसरी तयार गरिदिनु हुन्छ ? भन्ने उहाँको प्रश्न हुन्छ । पहिला लगानीकर्ताको स्पष्ट उद्देश्य र अवस्था हेर्छौं त्यसपछि यी उद्देश्य पूरा गर्नका लागि कुन पक्षले सहयोग गर्छ, त्यसको विश्लेषण गरेर हामी सल्लाह दिन्छौं । लगानीकर्ताले ल्याएको लगानीको ६० प्रतिशत लगानी गर्छों । कुनै कम्पनीमा मेटरियल चेन्ज आएन भने लगानी होल्ड गर्दै जाने छौं । ४० प्रतिशत सेयर खरिद बिक्रीका लागि राख्ने गर्छौं । ४० प्रतिशत पुँजी आईपीओ, एफपीओ, हकप्रद सेयर, राम्रा कम्पनीको सेयर लिलामीमा लगानी गर्न सक्छौं ।

लगानीकर्ताको भ्यालु म्याक्सिमाइजेसनको काम हामी गर्छौं । हामी दुई प्रकारको पोर्टफोलियो व्यवस्थापन गर्छौं । ‘हामी लगानी गर्न भ्याउँदैनौं, सेयर बजार पनि बुझेका छैनौं, यो सबै काम तपाईंले गरिदिनु पर्यो,’ भनेर लगानीकर्ता आउनु हुन्छ । उहाँले सेयर किन्ने र बेच्ने सबै अधिकार हामीलाई दिनुहुन्छ । त्यति बेला उहाँको भ्यालु म्याक्सिमाइजेसनका लागि हामी आफैंले कम्पनीको विश्लेषण गरेर सेयर किन्ने र बेच्ने काम गर्छौं । उहाँको चासोअनुसार त्रैमाशिक रुपमा हामी जानकारी गराउँछौं । अहिले सबै कुरा अनलाइनमार्फत भएकाले उहाँले सबै सेयर कारोबार चाहेका बेला हेर्न सक्नुहुन्छ । अर्को सेवा भनेको सेयर किन्ने र बेच्ने बेला मेरो पनि मन्जुरी चाहिन्छ भन्ने लगानीकर्तालाई सहयोग गरिदिन्छौं । सबैभन्दा राम्रो यो पोर्टफोलियो हुन सक्छ; तपाईंले यो कम्पनीमा लगानी गर्न सक्नु हुन्छ भनेर सल्लाह दिन्छौं । उहाँले भन्नुभयो भने हामी सेयरको किनबेच दुवै गरिदिन्छौं । यसरी दुई किसिमले हामीले लगानीकर्ताको लगानी व्यवस्थापन गरिरहेका छौं ।

नेसनल मर्चेन्टले साधारण सेयर (आईपीओ) निष्कासन कहिले गर्छ ?

तत्काल आईपीओमा जाने हाम्रो सोच छैन । हाम्रा लगानीकर्ताले कुनै उत्तम अवसर देखेर सम्पत्तिलाई तरल बनाएर अर्कोमा लगानी गरौं भन्ने सोच ल्याएमा आईपीओ निष्कासन गर्ने छौं । हाम्रा लगानीकर्तामाझ त्यस्तो अवस्था नआएको र पुँजीबजार घट्दै गएको छ । अर्को कुरा नियामक निकायबाट अझै पनि पूर्णरुपमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त नगरिसकेको अवस्था छ । यस्तै नियमित आम्दानीको स्रोत व्यवस्थापन गर्न सकिएको छैन ।

धितोपत्र बोर्डले नयाँ पुँजी तोकेको छ । पहिला ७ करोड रुपैयाँ हुँदा सबै पोर्टफोलियको लाइसेन्स लिन पाइन्थ्यो । अहिले पूरैको लाइसेन्स लिन २० करोड रुपैयाँ पुँजी चाहिन्छ । हामीसँग अहिले साढे १२ करोड रुपैयाँ चुक्तापुँजी छ । पुँजी बढाउन हामीले गृहकार्य गरिहेका छौं । अहिले पोर्टफोलियो म्यानेजमेन्टबाहेक हामीले केही सोचेका छैनौं । विस्तारै फाइनान्सियल एडभाइजरी सेवामा पनि हामी जाने तयारीमा छौं । अहिलेको नयाँ नियमनले एडभाइजारीका लागि पनि छुट्टै लाइसेन्स लिनुपर्छ । हामी त्यो प्रक्रियामा छौं । यो आर्थिक वर्षमा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएका छौं । यति नै व्यवसाय गर्नु छ भने पुँजी बढाएर दायित्व किन थप्ने ? भन्ने प्रश्न उठ्न सक्ने भएकाले सबै पक्षको विश्लेषण गरिरहेका छौं ।

१ हजार ८८१ अङ्कमा पुगेको सेयर बजार अहिले १ हजार १०० अङ्कको हारहारीमा आएको छ । यस्तो अवस्था कसरी हुन गयो ?

सेयर बजारमा ठूला लगानीकर्ताले बढी लाभ लिनका लागि पनि म्यानुप्लेट गरेका हुन्छन् । एउटा साइकलमा पुगेपछि घट्न थाल्छ, यो स्वाभाविक प्रक्रिया हो । अहिलेको अवस्था पनि यही हो । माथि पुगेपछि केही समय विश्राम लिनुपर्छ । तर, जुन गतिमा घट्नु पर्ने थियो अहिले बढी नै भएको छ । घट्ने क्रम रोकिनु पर्ने थियो । यद्यपि अहिले १ हजार १०० अङ्कबाट सेयर बजार तल झरेको छैन । देशमा अहिले निर्वाचित दुई तिहाई बलियो सरकार छ । अर्थ मन्त्रालयमा विद्वान अर्थमन्त्री हुनुहुन्छ । सेयर बजारका खेलाडीको प्रवेश भइरहेको छ ।

आर्थिक गतिविधि बढेको अवस्थामा सेयर बजार १ हजार ३०० अङ्कभन्दा तल नझर्ला भन्ने अनुमान गरिएको थियो । विश्वास बढेको बजारमा सानासाना घटनाले बजारलाई प्रभावित पारिरहेको हुन्छ । पुँजी बढ्नु भनेको जोखिम पनि बढ्नु हो । प्रतिफल दिन त्यही मात्रामा बढ्नु पर्ने थियो । तर त्यो अवस्था आएन । सेयरको आपूर्ति बढ्दा सोहीअनुसार माग पनि सिर्जना हुनुपर्छ । अहिले त्यस्तो देखिएको छैन । तल घट्नुमा लगानीकर्तामा केही मनोविज्ञान प्रभाव पनि परेको छ ।

पुँजीबजारका लगानीकर्ताले सरकारलाई विश्वास नगरेका हुन् त ?

हामी त्यही नै भन्ने गर्छौं । सरकारप्रतिको अविश्वासभन्दा पनि अहिले मुख्य समस्या बैङ्कको ब्याजदर वृद्धि हो । बैङ्कको पुँजी ४ गुणा बढेपछि आम्दानी पनि सोहीअनुसार गर्न बैङ्कहरुलाई दबाव छ । ब्याजदर बढाएर निक्षेप तान्नेतर्फ बैङ्कहरु लाग्दा पुँजी बजारमा ठूलो प्रभाव परेको हो । ब्याज भनेको पुँजीबजारका लागि टु एज्ड सोर्ड अर्थात् तरवारको दुई धार जस्तो हो । यस्तो अवस्थामा सस्तो ब्याजमा कर्जा लिएर पुँजी बजारमा लगानी गरौं भन्ने लगानीकर्ता किन बजारमा प्रवेश गर्ने ? अर्को कुरा जोखिमबिनै बैङ्कहरुले मुद्दती निक्षेमा धेरै ब्याज दिएपछि जोखिम भएको पुँजी बजारमा किन प्रवेश गर्ने भन्ने मनोविज्ञान देखिएको छ ।

अर्को कुरा सरकारले यस वर्ष मात्र १४ खर्ब रुपैयाँभन्दा बढीको बजेट कार्यान्वयन गर्नुपर्छ । तर अहिले पनि ढुकुटीमा साढे २ खर्ब रुपैयाँ बढी रकम थुप्रिएको छ । चाँडोभन्दा चाँडो विकास खर्च गर्ने प्रवृत्ति आइदिएको भए बजारमा तरलता सहज हुन्थ्यो । क्रेडिट क्रञ्च नभइदिएको भए यस्तो अवस्था आउने थिएन ।

बढ्दो ब्याजदरले सेयर बजार घटाउन सहयोग गरेको हो ?

यो कुरा सत्य हो । ब्याजदर पनि सीमामा हुनुपर्छ । विकासशील मुलुकमा ब्याजदर यसरी बढ्नु जायज हो वा हैन ? हाम्रा धेरै पूर्वाधार बनाउन लगानी गर्नुपर्ने बेलामा ब्याजदर एक अङ्कमा भए राम्रो हुन्थ्यो । बिनाजोखिम बैङ्कमा पैसा राखेर राम्रो प्रतिफल प्राप्त भइरहेको छ भने जोखिमपूर्ण व्यवसाय सेयर बजारमा किन लगानी गर्ने ? भन्ने प्रश्न छ । पोर्टफोलियो म्यानेजरको हिसाबले भन्दा राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाले निष्कासन गरिरहेको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर प्रभावकारी रुपमा कारोबारको संयन्त्र विकास भएको भए राम्रो हुन्थ्यो । हामी डिभेञ्चरबाट लगानीकर्ताको लगानीलाई एडन गर्न सक्थ्यौं ।

हामीसँग मुद्दती निक्षेपबाहेक अन्य विकल्प छैन । यसको प्रभाव पुँजीबजारमा पर्यो । सेयर बजार टाठाबाठाले कमाउने क्षेत्र हो । जोसँग बढी सूचना, पहुँच र कर्पोरेट क्षेत्र नजिक छ, तिनीहरुले छिटो सूचना पाउने गर्छन् । कहिले बजारबाट बाहिरिने भनेर नीति बनाउन सक्छन् । सामान्य व्यक्ति बजारमा प्रवेश गर्दा घाटा खान सुरु गरिसकेका हुन्छन् । यही भएर अहिले ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भने जस्तै लगानीकर्तालाई भएको छ । बजार बढ्न सेयरको माग बढ्नुपर्छ । एक पटक घाटा भएपछि फेरि किन सेयरमा लगानी गर्ने भन्ने कुरा उठ्छ । सेयर बजार बढ्न निक्षेपको ब्याजदर घट्नु पर्छ । लगानीकर्ताको दबावले गर्दा केही राम्रा नीति बन्ने अवस्था आएको छ । नीतिले मात्र बजार बढाउन पर्याप्त छ त ? पुँजीबजारको संरचनात्मक सुधारमा नियामकले कतिको ध्यान दिन्छ त्यो हेर्न बाँकी छ ।

नेपाल राष्ट्र बैङ्कले प्राथमिक पुँजीको ४० प्रतिशतबाट ६५ प्रतिशतसम्म लगानीको सीमा बढाउँदा पनि पुँजी बजार बढ्न सकेको छैन । पुँजीबजारमा बैङ्क तथा वित्तीय क्षेत्रको मात्र भूमिका छ । अझै पनि वास्तविक क्षेत्र आउन सकेको छैन । बैङ्क तथा वित्तीय संस्था र बिमाको पुँजी बढेपछि बजारमा सेयरको आपूर्ति धेरै भएको छ । तर खरिदकर्ता ल्याउन सकेनौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सेना र प्रहरीका कल्याणकारी कोषलगायत धेरै निकायका ठूला कोषहरु परिचालन हुनुपर्छ । सेयर बजार अहिले तल्लो लाइनमा छ । अब राम्रा कम्पनी छानेर लगानी गर्ने बेला यही हो । हामीले बजार घट्यो वा बढ्यो भनेर ध्यान दिने बेला हैन । कम्पनीले कतिको भ्यालु म्याक्सिमाइज गर्छ त्यसतर्फ ध्यान दिएर लगानी गर्नुपर्छ । कोही पनि लगानीकर्तालाई घाटा हुने अवस्था छैन ।

नेपाल बैङ्कको नेटवर्थ ३०० माथि छ तर सेयर मूल्य २८० रुपैयाँ हारहारीमा छ । यदि नेपाल बैङ्क आईपीओमा गयो भने उसले ३ गुणा निष्कासन गर्न पाउँछ । यस्ता कम्पनी छनौट गर्न सक्यौं भने राम्रो हुन्छ । खुदसम्पत्ति, नाफा, व्यवस्थापन समूह, विश्वास तथा संस्थागत सुशासन भएको कम्पनीको सेयर किन्दा राम्रो हुन्छ । परिसूचक तलमाथि होला यसले फरक पार्दैन ।

यहाँले सेयर बजारको प्रवृत्ति बुझ्नु भएको छ । अब सेयर कहिलेदेखि माथि जाला ?

सेयर बजारमा तलमाथिको साइकल चलिरहन्छ । बजारका लगानीकर्तालगायत नियामक सबै सकारात्मक हुनुपर्छ । बजारमा संस्थागतलगायत अन्य ठूला लगानीकर्ताको प्रवेश भयो भने बढ्न थाल्छ । तर, ब्याजदर घट्नुपर्छ । ब्याजदरको सहजीकरणका लागि सरकारले विकास खर्च चाँडै गरे हुन्थ्यो ।

बैङ्कले निष्कासन गरेको ऋणपत्र पनि बिक्री हुन छोडेको छ । यसको कारण के होला ?

डिभेञ्चर बैङ्कको ब्याजदरकै हारहारीमा आइरहेको छ । ऋणपत्र बिक्री नहुनुको मुख्य कारण वित्तीय साक्षरताको अभाव नै हो । पुँजीबजारको संरचनात्मक सुधारको बेला आयो भन्ने सन्देश पनि हो । बैङ्कहरुले ११ प्रतिशतसम्म ब्याज दिने गरी ऋणपत्र निष्कासन गरेका छन् । यो पनि बिक्री नहुनुको राम्रो कुरा हैन । सरकारको खर्च गर्ने क्षमता बढेमा तरलता सहज हुन्छ र निक्षेपको ब्याजदर पनि कम हुन्छ । यही अवस्थामा लामो समयका लागि बैङ्कहरुले ऋणपत्र निष्कासन गरेका छन् । त्यो लामो समयका लागि निश्चित प्रतिफल दिने गरी निष्कासन गरिएको छ । त्यो लगानीकर्ताका लागि राम्रो हो भनेर चेतना सिर्जना गर्न नसकिएको हो ।

१०० रुपैयाँको आईपीओमा लगानी गर्दा बढेर २०० सम्म पुग्ला र चाहेका बेला बेच्न सकिन्छ । तर, ऋणपत्र कसरी बेच्ने ? कहिले बेच्ने ? पुँजीबजारमा सूचीकृत भए पनि कारोबारका लागि उपयुक्त संयन्त्र पनि छैन । नेपाल स्टकमा कारोबार नै हुँदैन । ५ वर्ष वा १० वर्षसम्म एकनासको प्रतिफल आउँछ भनेर बुझाउन सकेको भए ऋणपत्रको महत्त्व बढ्ने थियो ।