हप्ताको मङ्गलबार र शनिबारबाहेक पाँच दिन काठमाडाैंबाट एउटा उडान राजविराज विमानस्थल आएको श्री एयरलाइन्सले पछिल्लो समय नियमित उडानमा दुई दिन कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी जम्मा तीन दिन मात्र उडान गर्ने गरेको कम्पनीले जनाएको छ ।
राजविराज । सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महिना नबित्दै श्री एयरलाइन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पुर्याइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ ।
हप्ताको मङ्गलबार र शनिबारबाहेक पाँच दिन काठमाडाैंबाट एउटा उडान राजविराज विमानस्थल आएको श्री एयरलाइन्सले पछिल्लो समय नियमित उडानमा दुई दिन कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी जम्मा तीन दिन मात्र उडान गर्ने गरेको कम्पनीले जनाएको छ ।
श्री एयरलाइन्सले नियमित उडानमा कटौती गरेपछि कुनै जरुरी कामका लागि काठमाडौँ जानुपर्ने अवस्थामा समयमा जान नसकिने भएकाले समस्या हुने गरेको पत्रकार श्रवणकुमार देवले गुनासो गरे । अपरझट काठमाडौँ जानुपरे राजविराजबाट माइक्रोबसमा करिब ९० किलोमिटर विराटनगर विमानस्थल जानुपर्ने अवस्था रहेको देवले बताए ।
लामो सयमपछि राजविराज विमानस्थलबाट श्री एयरलाइन्सले आफ्नो सेवा दिँदै आएका बेला यसरी नियमित उडानमा कटौती गरेपछि यात्रु मर्कामा परेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का कृष्णाकुमार मण्डलले पनि श्री एयरलाइन्सले नियमित उडानमा दुई दिन कटौती गरेको तथा उडानसमेत समयमा नहुने तथा कुनै दिन उडान नै रद्द हुना गुनासो गरे ।
श्री एयरलाइन्सले नियमित उडानमा कटौती गरेयता सप्तरीवासीमा निराश देखिएको जानकारी दिँदै राजविराज विमानस्थलबाट हप्तामा सातै दिन उडान हुनुपर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका स्थानीय नेता गजेन्द्रकुमार मण्डलले माग गरे ।
श्री एयरलाइन्सको विमान मर्मतमा रहेकाले राजविराज विमानस्थलमा नियमित उडान सेवा कटौती गर्नुपरेको एयरलाइन्सका स्टेसन म्यानेजर सुरेश मल्लिकले जानकारी दिए । उनले यात्रुुको सङ्ख्या बढेपछि मात्र उडान थप गरिने बताए । यसअघि आइतबार, बिहीबार गरी जम्मा पाँच दिन यहाँ श्रीले नियमित उडान गर्ने गर्दथ्यो तर अहिले यात्रुको अभाव देखाउँदै उडानमा कटौती गरेको स्थानीयवासीको भनाइ छ ।
सप्तरीवासीको आशाको रुपमा रहेको विमानस्थलको औपचारिक रुपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उपप्रधानमन्त्रीसमेत रहेका सप्तरी क्षेत्र –२ का सांसद उपेन्द्र यादव, पूर्वमन्त्री एवं राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवसहितको टोलीद्वारा २०७५ जेठ १० गते उद्घाटन गरिएको थियो ।
उद्घाटनपछि राजविराज विमानस्थलमा श्री एयरलाइन्सको ७२ यात्रु क्षमता भएको जहाजको परीक्षण उडान २०७५ जेठ १ गते नै गरिएको थियो । श्री एयरलाइन्सले असारबाट नियमित उडान राख्ने जनाएकाे थियाे । श्रीले राजविराजबाट काठमाडाैं २५ मिनेटको समयावधि रहने र फ्लाइटको भाडा न्यूनतम तीन हजार ५०० र अधिकतम छ हजार २०० तोकेकाे थियाे ।
विसं २०१६ मा तत्कालीन यातायातमन्त्री स्व गणेशमान सिंहद्वारा राजविराज विमानस्थलको शिलान्यास गरिएको थियो । यो विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की धावन मार्ग छ ।
नागरिक उड्डययन मन्त्रालयद्वारा ३० करोड ३० लाख रूपैयाँको लागतमा राजविराज विमानस्थल निर्माण गरिएको थियो । सो क्रममा विमानस्थलको ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न गरिएको थियो ।
राजविराज विमानस्थलको निर्माण कार्य सम्पन्न र नियमित उडानले सप्तरीवासी खुशी भएका थिए, तर अहिले नियमित उडानमा श्रीले कटौती गरेपछि यहाँका जनतामा निराशा छाएको राजविराज नगरपालिका–३ का मुकेश यादवले बताए । –अरुणकुमार यादव/रासस