हाल उडान गर्दै आएको दुबई विमानस्थल मर्मत गर्न लागिएको र नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पनि मर्मत कार्य सुरु हुने भएकाले तत्कालका लागि दुबई वर्ल्ड सेन्टरमा उडान गरिने उनले बताए ।
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी ‘ए ३३०–२००’ जहाजले दुबई उडान गर्ने भएको छ । हाल न्यारोबडी ‘ए ३२०–२००’ जहाजमार्फत साताभरि उडान गर्र्दै आएको नेपाल एयरलाइन्सले चैत्र १७ बाट वाइडबडीबाट उडान गर्न लागेको हो ।
एयरलाइन्सका सह–प्रवक्ता नवराज कोइरालाले तीन महिनाका लागि दुबई वलर््ड सेन्टर (डीडब्ल्यूसी) विमानस्थलमा उडान गर्ने जानकारी दिए । हाल उडान गर्दै आएको दुबई विमानस्थल मर्मत गर्न लागिएको र नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पनि मर्मत कार्य सुरु हुने भएकाले तत्कालका लागि दुबई वर्ल्ड सेन्टरमा उडान गरिने उनले बताए ।
दुबईमा रहेका दुवै विमानस्थलको पनि रन वे मर्मतको काम सोही समयमा हुने भएकाले विकल्पमा अर्को विमानस्थलमा उडान गर्न लागिएको सह–प्रवक्ता कोइरालाको भनाइ छ । दुबई वर्ल्ड सेन्टरमा निगमले तीन दिनका लागि मात्र स्लट पाएका कारण त्यहीअनुसार उडान तालिका बनाइएको जनाएको छ ।
सो विमानस्थलमा चैत्र १७ देखि असार १५ गतेसम्म उडान गर्ने र पछि दुवै एयरपोर्टबाटै नियमित उडान हुने निगमले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन वे पुनर्निर्माणको काम चैत १८ बाट असार १५ गतेसम्म हुने भएपछि सो समयमा बिहानदेखि राति १० बजेसम्म मात्र उडान हुनेछन् ।
निगमले न्यारोबडीको सट्टा वाइडबडी जहाज पठाउने भएपछि उडान सङ्ख्या पनि घटाएको छ । अब वाइडबडी साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान हुने जनाएको छ । वाइडबडीमा बिजनेस क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् ।
दुबईमा विषेशगरी नेपालीहरु रोजगारीका लागि जाने गरेका छन् । पछिल्लो समय मलेसियाको रोजगारी बन्द भएसँगै नेपालीहरु बढी मात्रामा दुबई जाने गरेका छन् । यस्तै पर्यटक भिसामा जाने र आउनेको सङ्ख्या पनि दैनिक बढ्दै गएको जनाएको छ ।