समितिले टेन्डर प्रक्रियामा सहभागी कम्पनीहरुको काम गर्ने प्रस्तावलाई पुनः मूल्याङ्कन गरी कम्पनी छनोट गर्न निर्देशन दिएको छ । कम दरमा काम गर्छु भनी कबुल गर्ने एम/एस लुफ्थान्सालाई टेन्डर प्रक्रियाबाट अलग गरी बढी रकममा काम गर्ने कम्पनी छनोट गरिएको समितिको निष्कर्ष छ ।
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई तत्कालका लागि वाइडबडी जहाजका इन्जिन तथा पार्टपुर्जा खरिद सम्झौता नगर्न निर्देशन दिएको छ । सोमबार बसेको बैठकले एजे वार्टरसँग सम्झौता नगर्न निर्देशन दिएको हो ।
समितिले टेन्डर प्रक्रियामा सहभागी कम्पनीहरुको काम गर्ने प्रस्तावलाई पुनः मूल्याङ्कन गरी कम्पनी छनोट गर्न निर्देशन दिएको छ । कम दरमा काम गर्छु भनी कबुल गर्ने एम/एस लुफ्थान्सालाई टेन्डर प्रक्रियाबाट अलग गरी बढी रकममा काम गर्ने कम्पनी छनोट गरिएको समितिको निष्कर्ष छ ।
दुई ओटा वाइडबडी जहाजका लागि निगमले आवश्यक इन्जिन र पार्टपुर्जा खरिद गर्न भन्दै एजे वार्टरलाई छनौट गरी सम्झौता गर्ने तयारी गरिरहेको थियो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ८ वर्षका लागि एजे वार्टरलाई छनोट गर्ने निर्णय गरेका थिए ।
यसअघि कार्यकारी अध्यक्ष खरेलले टेन्डरमा ४ ओटा कम्पनी सहभागी भए पनि दुई ओटाले धरौटी रकम दाखिला नगरेको र लुफ्थान्साले तोकेअनुसारका सामान दिन नसक्ने भन्दै प्रस्ताव पेस गरेका कारण निगमले एजे वार्टरलाई छनोट गर्न लागेको जानकारी गराएका थिए ।
कार्यकारी अध्यक्षको निर्णयपछि लुफ्थान्साले लेखा समितिमा उजुरी दिएको थियो । उजुरीमा हाल सम्झौता गर्न लागेको कम्पनीभन्दा १ अर्ब ५३ करोड रुपैयाँ कम मूल्यमा काम गर्न आफू तयार रहँदा रहँदै पनि निगमले नदिएको उल्लेख गरेको थियो ।
उजुरीपछि समितिले कार्यकारी अध्यक्ष खरेलसहित सञ्चालक समितिलाई बोलाएर धारणा माग गरेको थियो । उनीहरुको जवाफ सुनेपछि समितिले गत १० गते नै तत्कालका लागि टेन्डर नखोल्न निर्देशन दिएको थियो ।
कार्यकारी अध्यक्ष खरेलले वाइडबडीको ठेक्का यथावत राखी न्यारोबडीको भने पुनः टेन्डर गरेका थिए । सो टेन्डर खुलाउने समय १० गते १२ बजे राखिएकोमा समितिले तत्काल नखोल्न निर्देशन दिएपछि स्थगित भएको थियो ।
अध्यक्ष खरेलको जवाफ चित्त बुझ्दो नभएको भन्दै समितिले सोमबार सञ्चालक समितिलाई बोलाएको थियो । सञ्चालक समितिका सदस्यहरुले कार्यकारी अध्यक्षले गरेका कुनै पनि कामको जानकारी नभएको र टेन्डर खुलेको, स्थगित भएको र पुनः टेन्डर गरेको विषयमा आफूहरु अनभिज्ञ रहेको धारणा व्यक्त गरेका थिए । समितिमा सञ्चालक समितिका सदस्यहरु बुद्धिसागर लामिछाने, मुक्तिराम पाण्डे, निमानुरु शेर्पा र अच्युतराज पहाडी उपस्थित थिए ।
(यस्तो छ निर्णय)
- नेपाल वायु सेवा निगमको आर्थिक विनियम २२३ विशेष परिस्थितिमा मात्र लागु हुने र नियमित प्रक्रियामा सार्वजनिक खरिद ऐन र यसले निर्धारण गरेको प्रक्रिया नै आकर्षित हुने हुँदा टेन्डर मार्फत प्रतिष्पर्धाबाट छनोट गर्नु उत्तम उपाय भएकोले नेपाल बायुसेवा निगमको A320 का लागि आवहान गरिएको Engine repair, overhaul and maintenance of V2527E-A5 टेन्डरमा निगमलाई फाइदा हुने र सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावली अनुरुप नै रहेकोले टेन्डर रद्द गर्नु औचित्यपूर्ण नभएकोले सुरु टेन्डर प्रक्रियालाई नै अघि बढाउन निगमलाई निर्देशन दिने |
- नेपाल वायु सेवा निगमको A330 का लागि आवहान गरिएको PBH component Supply for A330 aircraft and engines टेन्डरमा निगमलाई प्राप्त चार कम्पनिहरुको प्रस्ताव मुल्यांकनबाट प्राविधिक रूपमा lufthansa Technik कम्पनीको प्रस्ताव प्रभावग्राही हुनुका साथै निगमले पत्राचार मार्फत प्रतिक्रिया मागेकोमा प्राप्त थप प्रस्ताव मितव्ययी समेत रहेकोले सो कम्पनिको प्रस्ताव समावेश गर्दा सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावली अनुरुप नै रहेको देखिएकोले सो प्रस्ताव समेत मूल्यांकनमा समावेश गरी टेन्डर प्रक्रियालाई निरन्तरता दिन निगमलाई निर्देशन दिने |
- माथि उल्लिखित टेन्डरका सम्बन्धमा भविष्यमा यस्ता समस्याहरु पुनरावृत्ति हुन नदिन थप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने |