फेब्रुअरीमा १ लाख २४ हजार पर्यटकले घुमे नेपाल

नेपाल पर्यटन बोर्डका अनुसार गएको महिना ९७ हजार ६ सय ९४ पर्यटक हवाई मार्गमार्फत र २६ हजार सात सय २७ जना पर्यटक स्थल मार्ग भएर नेपाल आएका थिए । यो सङ्ख्या गएको फेब्रुअरीभन्दा ३९ प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिएसँगै पर्यटक आगमनमा वृद्धि भइरहेको छ । नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्कअनुसार फेब्रुअरीमा १ लाख २४ हजार ४ सय २१ जना पर्यटकले नेपाल घुमेका छन् । यो सङ्ख्या गएको वर्षभन्दा दोब्बर हो ।

यस्तै सार्क राष्ट्रबाट ३१ हजार ८ सय ३१ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या पनि गएको वर्षभन्दा ८५ प्रतिशतले धेरै हो । नेपाल पर्यटन बोर्डका अनुसार गएको महिना ९७ हजार ६ सय ९४ पर्यटक हवाई मार्गमार्फत र २६ हजार सात सय २७ जना पर्यटक स्थल मार्ग भएर नेपाल आएका थिए । यो सङ्ख्या गएको फेब्रुअरीभन्दा ३९ प्रतिशतले वृद्धि भएको छ ।

यो महिना चीनबाट १६ हजार २ सय ५ पर्यटक नेपाल आएका छन् । थाइल्यान्डबाट नेपाल आउने पर्यटकको सङ्ख्या १ सय ९ प्रतिशतले बढेको छ, यस्तै जापानबाट २० प्रतिशत र कोरियाबाट ४७ प्रतिशत धेरै पर्यटक फेब्रुअरीमा नेपाल आएको बोर्डले जनाएको छ ।

पछिल्लो समय युरोपेली देशबाट नेपाल आउने पर्यटक पनि बढेका छन् । बेलायतबाट ५ हजार २ सय ६८, जर्मनीबाट ३ हजार ३ सय ४० र फ्रान्सबाट १ हजार ९ सय ७८ पर्यटक आएका थिए । तुलनात्मक हिसाबले यो सङ्ख्या गएको वर्षभन्दा सरदरमा आठ प्रतिशतले धेरै हो । यस्तै अमेरिकाबाट ७ हजार १ सय ३३ जना आएका छन् । यस्तै अष्ट्रेलियन पर्यटक २ हजार ९ सय ७८ पुगेका छन् ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले गएको फेब्रुअरीको तुलनामा यस वर्षको फेब्रुअरीमा झन्डै ४० प्रतिशत पर्यटक बढ्नु पर्यटन क्षेत्रका लागि निकै खुसीको कुरा भएको बताएका छन् । उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि यो सङ्ख्याले थप ऊर्जा मिलेको छ ।’