राष्ट्रको अखण्डतामा आँच आउने गरी कसैसँग सम्झौता हुँदैनः गृहमन्त्री

रूपन्देही । गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसँग सम्झौता नगरिने स्पष्ट पारेका छन्।

प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाई सोमबार भैरहवामा सम्बोधन गर्दै उनले केही शक्तिले शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेकाले त्यस्तालाई सरकारले निस्तेज पार्ने बताए। ‘केही तत्वलाई आधारभूत रुपमा नियन्त्रण गरिएको छ, बाँकिलाई पनि सफलतापूर्वक नियन्त्रण गर्ने प्रक्रिया अघि बढाएका छौं’, उनले भने।

नेत्रविक्रम चन्द समूह नेकपालाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन उनले आग्रह गरे। सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री थापाले अन्तिम बिदाइ कार्यक्रम भएको बताउँदै भने, ‘उहाँहरु सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आउनुभएको छ। कार्यकर्तामाझ सबै कुरा पुगिनसकेकाले केही गतिविधि गरेका हुन्, अब प्रशिक्षित हुन्छन् र त्याग्छन्।’

स्वतन्त्र मधेश गठबन्धनसँग जनमतसङ्ग्रह नभई जनअभिमत भन्ने सम्झौता भएको उनले स्पष्ट पारे।

राष्ट्रको शान्ति र सुरक्षामा प्राकृतिक प्रकोप पनि चुनौतीको रुपमा आएकाले त्यसबाट हुने क्षति र असुरक्षालाई बढीभन्दा बढी न्यूनीकरण गर्न सरकारले बढी भूमिका खेल्ने उनको भनाइ थियो ।

सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, गृहसचिव प्रेमकुमार राई, प्रदेश ५ का प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सरकारका सुरक्षा सल्लाहकारलगायत उच्च अधिकारीको सहभागिता थियो । गोष्ठीले प्रदेशस्तरीय सुरक्षा रणनीति बनाएको बताइएको छ ।

कारागार सार्न आग्रह

सिद्धार्थनगर नगरपालिकाले जिल्ला कारागारलाई स्थानान्तरण गर्न गृहमन्त्री थापासँग आग्रह गरेको छ । नगरपालिकाले आज ज्ञापनपत्र बुझाउँदै मन्त्री थापालाई ओमसतियामा रहेको जमीनमा कारागार स्थानान्तरण गर्न आग्रह गरेको हो ।

प्रदेश नं ५ को सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आउनुभका मन्त्री थापालाई नगर प्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले ज्ञापन पत्र बुझाउँदै यस्तो अनुरोध गरेका हुन्।

हाल जिल्ला कारागार नगरपालिकाको वडा नम्बर १२ कालिकापथमा छ। त्यहाँबाट नगरपालिकाको स्वामित्वमा रहेको साविक पटखौली गाविस हाल ओमसतिया गाउँपालिकामा रहेको ६ बिघा सात कठ्ठा साढे तेह्र धुर जमीनमा स्थानान्तरण गर्न नगरपालिकाले आग्रह गरेको नगर प्रमुख अधिकारीले बताए।

नगरपालिकाको गत मङ्सिर १ गते बसेको बैठकले कारागार नगरपालिकाबाट ओमसतिया सार्न सर्वसम्मत निर्णय गरेको थियो । निर्णय भएलगत्तै नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र कारागार व्यवस्थापन विभागलाई आग्रह गरिसकेको उपप्रमुख काफ्लेले बताए।