बन्दीपुर केबलकार प्रालिले निर्माण सुरु गरेको केबलकारको काम अहिले धमाधम अगाडि बढिरहेको छ । केबलकारको साझेदारी कम्पनीमा आरकेडी रियल इस्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिका र स्थानीय समुदाय छन् ।
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण सुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ ।
‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले निर्माण सुरु गरेको केबलकारको काम अहिले धमाधम अगाडि बढिरहेको छ । केबलकारको साझेदारी कम्पनीमा आरकेडी रियल इस्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिका र स्थानीय समुदाय छन् ।
केबलकारको समग्र बृहत् परियोजनामा कम्पनीले एक अर्ब २८ करोड रूपैयाँ लगानी गर्ने योजना बनाएको आरकेडी रियल इस्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको टावरका लागि पिल्लर खन्ने काम चलिरहेको छ भने ल्यान्डविण्डिङ र बाटो विस्तारको काम सकिएको छ ।
प्रारम्भमा ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्त्व दिएर सुरक्षा उपकरणसमेत जडान गर्ने योजना थप गरेको उनले जानकारी दिए ।
कम्पनीले बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न नौतले सुविधासम्पन्न आधुनिक कम्पलेक्स निर्माण गर्नेछ । कम्पलेक्सभित्र रुफटपमा आधुनिक भ्यूटावर, नवौँ तलामा बेनक्युट हल निर्माण गरिनेछ भने आठौँ, सातौँ, छैटौँ, पाँचौँ र चौथो तलामा सुविधासम्पन्न ८० कोठाको स्तरीय होटल निर्माण गरिनेछ । शर्माका अनुसार तेस्रो तलामा रेष्ट्रोजोन, दोस्रो तलामा सपिङमल र पहिलो तलामा केबलकारको स्टेसन, टिकट काउन्टर र उत्तरदक्षिण प्यासेज निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण हुने भवनका लागि ४५ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।
बन्दीपुरको पर्यटनलाई प्रवर्धन गर्न कृत्रिम तालमा रात्रिकालीन लाइटिङ वाटर म्युजिकल सांस्कृतिक शो देखाउन उपकरण जोड्नका लागि गाउँपालिकासँग छलफल अगाडि बढाइएको शर्माले जानकारी दिए । उनले भने, “बन्दीपुर गाउँपालिकाले बनाउन लागेको कृत्रिम ताललाई आकर्षणयुक्त बनाउन कम्पनीले त्यसमा केही उपकरण जोड्नका लागि गाउँपालिकासँग सहकार्यको प्रस्ताव गरेको छ ।”
साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पुँजी निर्माण गरिने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले बताए ।
यसलाई लागू गर्नका लागि कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीको रूपमा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र सबै पक्षलाई वर्गीकरण गरेर साना लगानीकर्तालाई समेत पर्यटन सहकारी बनाएर यसमार्फत सेयर दिने कम्पनीले जनाएको छ ।
केबलकार निर्माणको कामलाई २०७६ चैतसम्म सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । बाँकी पूर्वाधार साढे दुई वर्षमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले परियोजनामा साझेदारी गर्नका लागि सम्पूर्ण तनहुँवासीलाई अनुरोध गरेको छ । –कृष्ण न्यौपाने/रासस