जनताको जलविद्युत् त्रिशूलीले चैत ७ देखि आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता १० रुपैयाँ भुक्तानी गरे हुने

कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।आईपीओ खरिदका लागि दरखास्तसहित प्रतिकित्ता १० रुपैयाँ मात्र भुक्तानी गर्नुपर्ने भएको छ । अन्य आईपीओमा आवेदनसँगै प्रतिकित्ता १०० रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

काठमाडौं । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले चैत ७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ ।

आईपीओ निष्कासन छिटोमा चैत १२ र ढिलोमा बैशाख ६ गते बन्द हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ खरिदका लागि दरखास्तसहित प्रतिकित्ता १० रुपैयाँ मात्र भुक्तानी गर्नुपर्ने भएको छ । अन्य आईपीओमा आवेदनसँगै प्रतिकित्ता १०० रुपैयाँ भुक्तानी गर्नुपर्छ । जनताको जलविद्युत् भएकाले पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ मात्र भुक्तानी गरे हुने व्यवस्था गरिएको छ । आयोजनाको ७५ प्रतिशत भौतिक प्रगति भएपछि मात्र ९० रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

न्यूनतम १०० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने ग्लोबल आईएमईले जनाएको छ । निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको लागत प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ छ । निमार्ण अवधिको ब्याजबाहेक ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी आयोजना बनाउन ७ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्रिशूलीमा नेपाल विद्युत् प्राधिकरणको ३० र नेपाल टेलिकमको ३० गरी ६० प्रतिशत संस्थापक स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । यस्तै सर्वसाधारणको १५ प्रतिशत लगानी हुने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजी आयोजनामा परामर्श सेवा, प्रशासनिक र सिभिल, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रसारणलाइन निर्माणमा खर्च हुने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको ३ दिनमा त्रिशूलीले आईपीओका लागि आह्वानपत्र प्रकाशित गरेको छ । बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छैन ।

जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयले प्रस्ताव गरेका १९ मध्ये पहिलो चरणमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् कार्यान्वयनमा आएको हो । त्रिशूली जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेको त्रिशूली ३ बी पहिलो आयोजना हुने भएको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, मा परिमार्जन गरी जलविद्युत् आयोजनामा सर्वसाधारणको ४९ प्रतिशतसम्म सेयर लगानी सुनिश्चित हुने गरी विशेष कानुनी व्यवस्था गरेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी अर्थात २ अर्ब ४७ करोड र ७० प्रतिशत ऋण ५ अर्ब ७६ करोड रुपैयाँ छ ।

आयोजनामा नबिल बैङ्कको अगुवाइमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी भएको छ । प्रवर्द्धक कम्पनी र बैङ्कहरुबीच २०७५ भदौ ४ गते ऋण सम्झौता भइसकेको छ । विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने छ । ठेक्का सम्झौताअनुसार आयोजनाको काम २०७७ फागनु २९ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको आयोजनाले जनाएको छ ।