२० अर्बभन्दा बढीको आईपीओ आउँदै, कसको कति (सूचीसहित)

सर्वसाधारणमा सेयर जारी गरेपछि कम्पनीहरु बढी पारदर्शी हुनुपर्ने बाध्यताले त्यसतर्फ अग्रसर नभएको देखिन्छ । सर्वसाधारणलाई सेयर बेच्ने कम्पनीले करमा छुट पाउने व्यवस्था भए पनि कम्पनीहरु उत्साहित छैनन् ।

काठमाडाैं । नयाँ लगानीकर्ताहरुलाई जहिले पनि पुँजीबजारमा कहिले प्रवेश गर्ने भन्ने प्रश्न अल्झिरहन्छ । कसरी र कहिले भन्ने प्रश्नलाई धेरैले प्राथमिक निष्कासनसँग जोड्ने गर्छन् र सार्वजनिक निष्कानसनमा आएका सेयर खरिद गर्दै अघि बढ्ने मनस्थितिमा पुग्छन् । कम्पनीको वास्तविकता पनि नहेरी प्राथमिक निष्कासनमा आएका जुनसुकै कम्पनीको सेयर भर्ने प्रवृत्ति त्यस्ता लगानीकर्ताहरुको देखिन्छ । प्राथमिक निष्कासनमा प्रतिकित्ता १ सय रुपैयाँमा भर्दा घाटा हुँदैन भन्ने मान्यता धेरैमा छ ।

सर्वसाधारणमा पहिलो पटक साधारण सेयर (आईपीओ) जारी गर्दा सामान्यतया प्रत्येक कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गर्छन । तर कतिपय कम्पनीले प्रिमियम मूल्यमा पनि सर्वसाधारणलाई सेयर जारी गर्ने गरेको पाइन्छ । खासगरी बजार बढेका बेला धेरैको चासोमा पर्छ सेयर बजार । तर, अहिलेको जस्तो बजार घटेका बेला लगानीकर्ता खासै उत्साहित देखिँदैनन् ।

२०७५ कात्तिकसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ सय ९८ कम्पनी सूचीकृत भएका छन् । यी कम्पनीहरुले चुक्ता पुँजी वृद्धि गर्नु आवश्यक देखिए बानेस सेयर दिनेदेखि हकप्रद सेयर र प्रिमियम मूल्य थप प्राथमिक निष्कासनसम्म गर्छन् । यी कम्पनीको सेयर किन्न दोस्रो बजारमै जानुपर्ने हुन्छ । तर, यसअघि सर्वसाधारणलाई सेयर जारी नगरेका कम्पनीहरुमा प्राथमिक निष्कासनमार्फत सेयर बजारमा प्रवेश गर्न सकिन्छ ।

अहिले पनि केही ठूलादेखि साना कम्पनीहरुसम्म प्राथमिक सेयर निष्कासन गर्ने तयारीमा छन् । खासगरी केही जलविद्युत् कम्पनीहरु, गत वर्षदेखि सञ्चालनमा आएका बिमा कम्पनीहरु, लघुवित्त संस्थाहरुसहित होटल, उत्पादनमूलक क्षेत्रका कम्पनी, सञ्चार तथा यातायात क्षेत्रका कम्पनीहरु सर्वसाधारणका लागि सेयर बिक्री गर्ने तयारीमा छन् । यस्ता केही कम्पनीहरुले नियामक नेपाल धितोेपत्र बोर्डको स्वीकृति कुरिरहेका छन् भने केही सार्वजनिक निष्कासनको तयारीमा जुटेका छन् । चालू बजेटमा एक अर्ब वा सोभन्दा बढीको पुँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तर भई पुँजीबजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने उल्लेख छ । तर, त्यसअनुरुप काम अझै सरकारले अघि बढाएको छैन ।

नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली सरकारले घोषणा गरे जस्तै १ अर्बभन्दा माथिका सबै कम्पनीलाई सर्वसाधारणका लागि सेयर बिक्री गर्ने वातावरण बनाउनुपर्ने बताउँछन् । सबै प्रकारका ठूला कम्पनीहरुले सर्वसाधारणका लागि सेयर बिक्री गर्नु आवश्यक रहेको भन्दै उनले धेरै समयसम्म चलाउने उद्देश्यका साथ खोलिएको कम्पनीहरु सर्वसाधारणमा जानैपर्ने बताए । ‘कुनै पनि उद्यम÷व्यवसायलाई राम्रोसँग चलाउने हो भने पारिवारिक लगानीले मात्र पुग्दैन । त्यसका लागि सर्वसाधारणको सहभागिता पनि आवश्यक पर्छ,’ उनले भने, ‘विद्यमान कम्पनी ऐन संशोधन गरेर सञ्चार, उत्पादनमूलक, व्यापालगायत सबै क्षेत्रका ठूला कम्पनीले सर्वसाधारणलाई सेयर बेच्ने व्यवस्था मिलाउनुपर्छ ।’

बैङ्क तथा वित्तीय संस्था (लघुवित्तसमेत) र बिमा कम्पनी स्थापना भएपछि चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । साथै जलविद्युत् क्षेत्रका कम्पनीहरुले चुक्ता पुँजीको न्यूनतम १० प्रतिशत सेयर स्थानीयवासीलाई बेच्नैपर्ने व्यवस्था छ । तर सर्वसाधारणलाई बिक्री गर्ने सम्बन्धमा भने सम्बन्धित संस्थालाई नै अधिकार दिइएको छ । अन्य क्षेत्रका कम्पनीहरुको हकमा भने अहिलेसम्म कुनै पनि बाध्यकारी व्यवस्था नभएकाले त्यस्ता क्षेत्रका कम्पनीलाई सेयर बजारमा ल्याउनेबारे सरकारले भनिरहे पनि कम्पनीहरु लालायित देखिँदैनन् । खासगरी सर्वसाधारणमा सेयर जारी गरेपछि कम्पनीहरु बढी पारदर्शी हुनुपर्ने बाध्यताले त्यसतर्फ अग्रसर नभएको देखिन्छ । सर्वसाधारणलाई सेयर बेच्ने कम्पनीले करमा छुट पाउने व्यवस्था भए पनि कम्पनीहरु उत्साहित छैनन् । चालू बजेटमा ५० करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका प्राइभेट लिमिटेड कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन प्रोत्साहनस्वरुपमा तीन वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

सेयर बिक्री गर्न सेबोनमा २२ कम्पनीको आवेदन

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न क्षेत्रका २३ कम्पनीले प्राथमिक निष्कासनको स्वीकृति माग्दै आवेदन दिएका छन् । बोर्डको स्वीकृति पाएको २ महिनाभित्र सेयर बिक्री गरिसक्नुपर्छ । २४ कम्पनीले ३ अर्ब ७९ करोड ६२ लाख रुपैयाँबराबरको ३ करोड ७९ लाख ५२ हजार कित्ता सेयर बिक्रीको स्वीकृति माग्दै आवेदन दिएका हुन् । बोर्डमा आईपीओको स्वीकृति माग्दै आवेदन दिने कम्पनीमध्ये अधिकांश जलविद्युत् उत्पादन कम्पनी र लघुवित्त कम्पनीहरु छन् । खासगरी कतिपय जलविद्युत् कम्पनीहरुले स्थानीय बासिन्दाका लागि सेयर जारी गरिसकेर सर्वसाधारणलाई सेयर बिmी गर्ने अनुमति मागेका छन् भने कतिपय जलविद्युत् कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई सेयर बेच्न अनुमति मागेका छन् ।

ग्रिनलाइफ हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १८ लाख कित्ता सेयर जारी गर्न बोर्डबाट अनुमति पाइसकेको छ । त्यस्तै, शिवश्री होइड्रोपावरले १४ लाख ७६ हजार ४ सय र पाँचथर पावर कम्पनीले स्थानीयवासीका लागि ९ लाख ६२ हजार ५ सय र सर्वसाधारणका लागि ९ लाख ६२ हजार ५ कित्ता गरी १९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्ने अनुमति बोर्डबाट लिएको छ । बोर्डका अनुसार स्थानीयका लागि सेयर जारी अनुमति माग्न आएका तीन कम्पनी भने सम्पर्ककमा छैनन् । युनिक हाइडेल, लाफिङ बुद्ध पावर र गज्र्याङ हाइड्रोपावर कम्पनी बोर्डको सम्पर्कमा नआएको बोर्डले जनाएको छ ।

त्यसैगरी शिवम् सिमेटन्टले पनि प्रिमियम मूल्यसहित सर्वसाधारणमा सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति लिइसकेको छ । यसअघि स्थानीयवासीलाई सेयर बेचिसकेको शिवम्ले स्थानीयवासीले नकिनेको सेयर ६ लाख ७९ हजार ७ सय ६० कित्ता र सर्वसाधारणलाई छुट्याएको ४४ लाख कित्तासमेत गरी ५० लाख ७९ हजार ७ सय ६० कित्ता बिक्री गर्ने तयारी गरेको छ । स्थानीयलाई २ सय रुपैयाँ थप गरी प्रतिकित्ता ३ सय रुपैयाँमा बिक्री गरेको सेयर सर्वसाधारणलाई भने प्रतिकित्ता ३ सय रुपैयाँ प्रिमियम थप गरी ४ सय रुपैयाँमा बिक्री गर्ने यसअघि नै जनाइसकेको छ ।

१४ नयाँ बिमा कम्पनी, पूर्वाधार बैङ्क, मध्यभोटेकोसी

१३ नयाँ बीमा कम्पनी तथा एउटा पुनर्बिमा कम्पनीसमेतले गरी अबको एक÷डेढ वर्षभित्र बिमा कम्पनीहरुले ८ अर्ब ९ करोड रुपैयाँबरारबको ८ करोड ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्नेछन् । त्यसैगरी सञ्चालनको तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले पनि ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता सेयर सर्वसाधारण २ वर्षभित्रै बिक्री गर्नुपर्नेछ । पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता कम्पनीका कर्मचारी र संस्थापक सेयर लिएका कम्पनीका कर्मचारीलाई १ अर्ब ४४ करोड रुपैयाँबराबरको १ करोड ४४ लाख कित्ता सेयर बिक्री गरिसकेको मध्य भोटेकोसी होइड्रोपावर कम्पनीले स्थानीयका लागि ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता र सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको ९० लाख कित्ता सेयर बिक्री गर्ने तयारी गरिरहेको छ ।

सञ्चालनमा आइसकेका तर सार्वजनिक निष्कासन गनुपर्ने लघुवित्त

पछिल्लो समय लघुवित्त संस्थाहरु खुल्ने क्रम तीव्र छ । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नै लघुवित्त संस्थाहरुले सञ्चालनमा आएको केही समयपछि जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नुपर्छ । राष्ट्र बैङ्कबाट सञ्चालन अनुमति पाएका तर सर्वसाधारणलाई सेयर जारी गर्न अनुमति नमागेका लघुवित्त नै १९ ओटा छन् । कतिपय कम्पनीहरुले ३० प्रतिशतभन्दा बढी पनि सेयर बिक्री गर्ने गर्छन् । राष्ट्र बैङ्कले असोजसम्म कायम गरेको चुक्ता पुँजी यहाँ प्रस्तुत छ ।

सार्वजनिक निष्कासनको तयारीमा रहेका कम्पनीहरु

पछिल्लो समय बाध्यात्मक व्यवस्थाबाहेकका कम्पनीहरु पनि सर्वसाधारणलाई सेयर बिक्री गर्न इच्छुक देखिएका छन् । खासगरी डिसहोम, बुद्ध एयरलाइन्स, अर्घाखाँची सिमेन्ट, चन्द्रागिरी केबुल कारलगायत कम्पनीले पनि सार्वजनिक निष्कासनको तयारी गरिरहेका छन् । उत्पादन क्षेत्रको कम्पनी शिवम् सिमेन्टले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आईपीओ जारी गरिसकको छ भने सर्वसाधारणमा पनि सेयर जारी गर्ने तयारीमा छ । यस्तै नेपाल सरकारले १ अर्ब रुपैयाँभन्दा माथिका ठूला कम्पनीको सेयर सर्वसाधारणमा जारी गराउने व्यवस्था मिलाउने चालू वर्षको बजेटमा उल्लेख छ । यसले गर्दा धेरै उद्योग तथा व्यवसायहरु सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने बाध्यात्मक अवस्थामा पर्न सक्छन् ।

चन्द्रागिरी हिल्स लिमिटेडले जारी पुँजीको १० प्रतिशत अर्थात् १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने यसअघि नै जानकारी दिएको छ । त्यस्तै हाल २ अर्ब रुपैयाँ जारी पुँजी भएको डिसहोम (टेलिभिजन सेवाप्रदायक)ले जारी पुँजीको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँबरावरको ४० लाख कित्ता सार्वजनिक सेयर निष्कासन गर्ने उल्लेख गरेको छ ।

सरकारी स्वामित्वका यी कम्पनीको सेयर कहिले ?

सरकारले १ अर्बभन्दा बढी लगानीका ठूला कम्पनीहरुको सेयर सर्वसाधारणमा जारी गर्ने व्यवस्था मिलाउने भनिरहे पनि आफ्नो स्वामित्वमा रहेका ठूला कम्पनीहरुको सेयर बिक्री गर्नेतर्फ भने कुनै चासो दिएको छैन । खासगरी बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले बाध्यामत्क रुपले सेयर जारी गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि सरकारी स्वामत्विको राष्ट्रिय वाणिज्य बैङ्क र राष्ट्रिय बिमा संस्थानको सेयर कहिलेसम्म सर्वसाधारणमा बिक्री हुन्छ भन्ने अहिलेसम्म जानकारी गराएको छैन ।

राष्ट्रिय वाणिज्य बैङ्कको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ छ भने राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी २६ करोड ६६ लाख छ । त्यसैगरी नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल स्टक एक्सचेन्जलगायतको सेयर कहिले सर्वसाधारणमा बिक्री हुन्छ भन्ने आमजनमानसमा चासो छ ? हाल आयल निगमको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ, नेपाल वायुसेवा निगमको चुक्ता पुँजी ३७ करोड ९२ लाख ६६ हजार १ सय १० रुपैयाँ र स्टक एक्सचेन्जको चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । त्यस्तै वायुसेवा निगमको स्थिर सम्पत्ति २ अर्ब ७२ करोड ४५ लाख ७१ हजारसमेत गरी जम्मा पुँजी ३ अर्ब १० करोड ३८ लाख ३७ हजार रुपैयाँ छ । वायुसेवा निगमलाई पनि निजीकरण वा रणनीतिक साझेदार भिœयाउने र सर्वसाधारणलाई सेयर बिक्री गर्ने भन्ने कुराहरु सतहमा आए पनि आधिकारिक रुपमा कुनै निर्णय भएको छैन ।

त्यस्तै, आयल निगमले आफ्नो चुक्ता पुँजी बढाएर ३० अर्ब बनाउने योजना अघि सारेको छ । त्यसमध्ये ३० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्ने बताइरहे पनि अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । अवस्था अन्य सार्वजनिक संस्थानहरुको छ ।

सर्वसाधारणमा सेयर जारी गर्ने भए प्राइभेट कम्पनीलाई पहिला पब्लिक कम्पनीमा परिणत गर्नुपर्छ । त्यसपछि उनीहरुले कति सेयर जारी गर्ने हो यकिन गरी निष्कासन तथा बिक्री प्रबन्ध छनोट गर्नुपर्छ । कम्पनीको रेटिङ पनि गरानुपर्छ । हालै मात्र धितोपत्र बोर्डले कमजोर रेटिङ भएको कम्पनीलाई सार्वजनिक निष्कासन गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । निष्कासन तथा बिक्री प्रबन्धकसँग मिलेर प्रबन्धपत्र तथा नियमावलीसहित धितोपत्र बोडर्एमा आवेदन दिनुपर्छ । बोर्डले कम्पनीका आवश्यक तथ्यहरु केलाई स्वीकृति दिएको दुई महिनाभित्र सर्वसाधारणलाई बिक्री गर्नुपर्ने हुन्छ ।

क्यापिटल म्यागजिनबाट