नेसनल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार, नेपाल टेलिकम ठूलो कम्पनी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ करोड ३९ लाख ७० हजार, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको ९ करोड २६ लाख ४० हजार रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेसनल लाइफको साधारण र संस्थापक गरी २५ करोड ५३ लाख ४० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जानकारी दिएको छ, जसमध्ये २१ करोड रुपैयाँबराबरको संस्थापक (प्रमोटर) र ४ करोड ५३ लाख ४० हजार रुपैयाँ साधारण सेयर किनबेच भएको छ । कम्पनीमा नयाँ लगानीकर्ताको प्रवेशपछि यो साता सबैभन्दा बढी सेयर कारोबार भएको हो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ करोड ३९ लाख ७० हजार, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको ९ करोड २६ लाख ४० हजार रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

नेप्सेको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कको ६७ अर्ब ८ करोड, नबिल बैङ्कको ६४ अर्ब ३८ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४८ अर्ब ७१ करोड, स्ट्यान्डर्ड चाटर्ड बैङ्कको ४५ अर्ब ९८ करोड रुपैयाँ बजार पुँजीकरण भएको नेप्सेले जनाएको छ ।

एभरेस्ट बैङ्कको ४३ अर्ब ४० करोड, हिमालयन बैङ्कको ३९ अर्ब ८७ करोड, एनआईसी एसिया बैङ्कको ३५ अर्ब ४४ करोड, नेपाल एसबीआई बैङ्कको ३३ अर्ब ३ करोड र एनएमबी बैङ्कको ३१ अर्ब २५ करोड रुपैयाँ बजार पुँजीकरण रहेको नेप्सेले बताएको छ ।

नेपाल लाइफले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश घोषणा गरेपछि उसको सेयर मूल्य उकालो लाग्दा बजार पुँजीकरण बढेको छ ।

यो साता नेप्से परिसूचक बढेर १ हजार १५५ अङ्कमा पुगेको छ । यो साता १ अर्ब ९५ करोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।