पर्यटन र साहित्य प्रवर्धन गर्न अक्षर महोत्सव

महोत्सवमा साहित्यकार नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी श्यामल, तुलसी दिवस, रमेश क्षितिज, फुलमान बल, ज्योति जङ्गल, बाबु त्रिपाठी, नवीन विभाष, अर्चना थापालगायतको उपस्थिति रहनेछ ।

काठमाडौं । हामी महोत्सव भन्नेबित्तिकै कृषि एवम् औद्योगिक, सांस्कृतिक महोत्सवलाई बुझ्छौँ । जहाँ विभिन्न स्टलहरुका साथ आर्थिक कारोबारका साथै देशका नामी र चल्तीका कलाकार (गायकगायिका, नायक नायिका, हस्यकलाकार)लगायत प्रस्तुति हुने गर्दछन् । तर, रोल्पामा भने भिन्न खालको महोत्सव हुँदै छ, जुन नेपालमै पहिलो पटक हुन लागेको हो । रोल्पाको रुन्टिगढी गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रिय अक्षर महोत्सव–२०७५, हुन लागेको हो ।

‘पर्यटन र साहित्य प्रवद्र्धनको अभियान’ भन्ने मूल नाराका साथ चैत ७ र ८ गते रोल्पाको होलेरीमा हुन लागेको अक्षर महोत्सवमा देशका प्रसिद्ध साहित्यकार र सर्जकका साथै अन्य नामी व्यक्तित्वको सहभागिता हुने आयोजकले जनाएको छ ।

लामो समय साहित्यिक क्षेत्रमा कलम चलाएका प्रसिद्ध व्यक्तित्वलाई रोल्पा पुर्याएर लेखनको माध्यमबाट पर्यटन र समृद्धिको नयाँ सम्भावना खोजी गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए । ‘साहित्यमार्फत मोफसल र केन्द्रलाई जोड्नु र राष्ट्रिय स्तरका साहित्यकार र सर्जकहरुलाई स्थानीय स्तरमा पनि साहित्यको महत्व ठूलो हुन्छ भन्ने बुझाउने हाम्रो प्रयास हो,’ उनले भने । महोत्सवका क्रममा उपस्थित व्यक्तित्वहरुलाई रुन्टिगढी गाउँपालिकाका पर्यटकीय स्थलहरु अवलोकन भ्रमण गराउने योजना छ ।

महोत्सवमा साहित्यकार नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी श्यामल, तुलसी दिवस, रमेश क्षितिज, फुलमान बल, ज्योति जङ्गल, बाबु त्रिपाठी, नवीन विभाष, अर्चना थापालगायतको उपस्थिति रहनेछ । साथै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कवि तुलसी दिवस, संविधानविद् डा. भीमार्जुन आचार्यलगायतको पनि उपस्थिति रहने छ ।