मेलामा २ सय ७० भन्दा धेरै प्रदर्शक थिए, जसमा एयरलाइन, होटल, सर्भिस अपार्टमेन्ट, रेल सञ्चालक, कार रेन्टल्स, अनलाइन बुकिङ कम्पनीहरु, क्रेडिट कम्पनी कार्ड, बिजनेस ट्राभल एजेन्ट, एयर चार्टर, एयरपोर्ट र अन्य धेरै सेवाप्रदायक थिए ।
काठमाडौं । गत मार्च १५ देखि १७ सम्म क्वालालम्पुरस्थित पुत्र वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको माट्टा मेलाको अन्तिम संस्करणमा नेपालले सफल सहभागिता जनाएको छ । उक्त मेलामा नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा काम गर्ने आठवटा कम्पनीसँगको समन्वयमा नेतृत्व गरेको थियो ।
मेलाले मलेसियाली बजारमा नेपाललाई महत्त्वपूर्ण अनुभव बटुल्न सुदूर गन्तव्यका रुपमा आफूलाई चिनाउने राम्रो प्लेटफर्म उपलब्ध गराएको थियो । पर्यटन बोर्डले ताजा सञ्चारबाट नेपाललाई गन्तव्यका रुपमा पहिचान गराउँदै निजी क्षेत्रबाट आकर्षक र सेवाग्राहीको इच्छाअनुसारको टुर प्याकेज अफर गरेको थियो ।
नेपाली प्याभिलियनमा तलेजु घण्टाको सुन्दर प्रतिमाले सजिएको काठको मूर्तिकला राखिएको थियो । नेपाली पर्यटन वस्तुको झलक दिने रङ्गीबिरङ्गी तस्बिरका लेआउट पनि राखिएको थियो । प्रचार सामग्री ब्रोसिएर, पोस्टर र सौभियिरहरु नेपाली प्याभिलियनमा बाँडिएको थियो । साथै सम्भावित पर्यटकलाई नेपालको अनुभवको झलक दिने भिडियो प्रदर्शन गरिएको थियो ।
मेलामा आउने भिजिटर मलेसियाका सम्भावित पर्यटक, मलेसियाली अन्तर्राष्ट्रिय टूर कम्पनी सञ्चालक र गैरआवासीय नेपाली थिए । मेलामा आउने भिजिटरहरुले नेपालबारे विभिन्न प्रश्न सोधेका थिए । उनीहरुले नेपालको उत्कृष्ट गन्तव्यदेखि घुम्नका लागि उत्कृष्ट समय, ट्रेकिङ, हाइकिङ सम्भावना, भिजा, पहुँच आदिबारे प्रश्न गरेका थिए । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पनि नेपाली प्याभिलियनको भ्रमण गरेका थिए । साथै राजदूतावासका अन्य अधिकारी पनि सहभागी थिए ।
बीदेखि सी इभेन्टसम्मका सम्भावित सेवाग्राहीसँग सम्बन्ध स्थापित भएपछि निजीक्षेत्रका सहभागीले सन्तोष व्यक्त गरेका थिए । निजीक्षेत्रका एक जना प्रतिनिधिले भने, ‘मलेसियाबाट गुणस्तरीय पर्यटनको भविष्य उच्च रहेको अवस्थामा यो प्लेटफर्मको उत्कृष्ट प्रयोगका लागि एउटा सामूहिक र राम्रो योजनाअनुसार प्रस्ताव अपनाउनुपर्छ ।’
काठमाडौं र क्वालालम्पुर क्षेत्रको कनेक्टिभिटीको फ्रिक्वेन्सीमा वृद्धि आएसँगै उच्च मूल्य र छोटो दूरीको पर्यटन बजारबाट पर्यटक नेपाल आउने क्रम बढ्दो छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार मलेसियाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २०१७ देखि २०१८ मा १८, २८४ देखि २२, ७७० सम्म वृद्धि भएको छ, जुन २४.५ प्रतिशत वृद्धि हो । २०१९ को वर्षको पहिलो दुई महिनामा पनि मलेसियाली पर्यटकको आगमनमा वृद्धि देखिएको छ । आगामी २०२१ सम्म मलेसियाको आउटबाउन्ड पर्यटक सङ्ख्या एक करोड ४० लाख अनुमान गरिएको अवस्थामा बजारले प्रत्येक क्षेत्रमा वाचा गरेको देखिन्छ । काठमाडौं र क्वालालम्पुरबीचका उडान नेपाल एयरलाइन, हिमालय एयरलाइन, मलेसियन एयरलाइन र मालिन्दो एयरले गर्दै आएका छन् ।
माट्टा मेला मेलिसायाको एउटा महत्त्वपूर्ण प्रदर्शनी थियो, जसले विश्वलाई मलेसियामा रहेका छुट्टी मनाउन चाहने नागरिकसमक्ष आफूलाई प्रस्तुत गर्ने व्यापारिक अवसर प्रदान गरेको थियो । माट्टा मेलाले २९ हजार वर्गमिटर क्षेत्रफल ओगटेको थियो, जसमा हलहरु समावेश थिए । मेलामा नेपालका अतिरिक्त थाइल्याल्ड, कोरिया र जापान पनि सहभागी थिए । मेलाले भिजिटरहरुलाई एक्सक्लुसिभ अफर र यात्रा विकल्प उपलब्ध गराएको थियो ।
मेला मलेसियाली र आसिएन मुलुकहरु र अन्य मुलुकहरुबाट १० लाखभन्दा धेरै मानिसले अवलोकन गरेका थिए । मेलामा २ सय ७० भन्दा धेरै प्रदर्शक थिए, जसमा एयरलाइन, होटल, सर्भिस अपार्टमेन्ट, रेल सञ्चालक, कार रेन्टल्स, अनलाइन बुकिङ कम्पनीहरु, क्रेडिट कम्पनी कार्ड, बिजनेस ट्राभल एजेन्ट, एयर चार्टर, एयरपोर्ट र अन्य धेरै सेवाप्रदायक थिए ।