विभागका महानिर्देशक डण्डुराज घिमिरेले विभागले जारी गरेको मापदण्डविपरीत जानेलाई कारबाही गर्ने बताए । उनले अक्सिजनको मापदण्ड पूरा भएको वा नभएको भन्ने विषयमा अध्ययन गर्नका लागि गुणस्तर विभागलाई जिम्मेवारी दिइएको जानकारी दिए ।
काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै पर्यटन विभागले अक्सिजन सिलिन्डर प्रयोगका लागि नयाँ मापदण्ड सार्वजनिक गरेको छ । पछिल्लो समय हिमाल आरोहणका लागि प्रयोग हुने सिलिन्डर लिक्विट अक्सिजन लानु पर्नेमा अस्पतालमा प्रयोग हुँदै आएका सिलिन्डर लाने गरेको उजुरी परेपछि विभागले नयाँ मापदण्ड ल्याएको हो ।
विभागका महानिर्देशक डण्डुराज घिमिरेले विभागले जारी गरेको मापदण्डविपरीत जानेलाई कारबाही गर्ने बताए । उनले अक्सिजनको मापदण्ड पूरा भएको वा नभएको भन्ने विषयमा अध्ययन गर्नका लागि गुणस्तर विभागलाई जिम्मेवारी दिइएको जानकारी दिए ।
विभागले जारी गरेको मापदण्डअनुसार हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन सिलिन्डर युरोपियन र अमेरिकी मापदण्डबमोजिमका हुनुपर्ने, १० वर्षभन्दा बढी पुराना हुन नहुने तथा कम्तीमा ८ देखि १० घण्टासम्म प्रयोगका लागि पुग्नुपर्ने सर्त राखिएका छन् ।
यस्तै सिलिन्डरमा भरिने वा भएको अक्सिजन ड्राइ हुनुपर्ने तथा मिति नाघिसकेका सिलिन्डर प्रतिस्थापन गर्नुपर्ने उल्लेख छ । प्रचलित मूल्यभन्दा बढी मूल्यमा अक्सिजन बिक्री वितरण गरेको गुनासो आएमा वा अनुगमनबाट देखिएमा सशक्त कारबाही गरिने विभागले जनाएको छ ।
मापदण्डविपरीतका अक्सिजन सिलिन्डर प्रयोग गरेका कारण गत वर्ष केही सिलिन्डर बीचमै पड्किएका थिए । सिलिन्डर पड्किएपछि हिमाल आरोहणमा जानेहरुलाई समस्या भएको भन्दै विभागमा उजुरी परेको थियो ।
संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्न नहुने भन्दै विभागले नयाँ मापदण्ड ल्याएको हो । यो मापदण्डले हिमाल आरोहण गर्नेहरुलाई थप सहज हुने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाको भनाइ छ । उनले विभागले जारी गरेको मापदण्ड सबै व्यवसायीले पूर्णरुपमा कार्यान्वयनमा ल्याउनसमेत आग्रह गरेका छन् ।