फेवाताल छ र पोखरा छ, त्यसैले फेवाताल जोगाऔं– राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासकालागि फेवातालको संरक्षणको लागि एकिकृत योजनाको खाँचो रहेको बताएका छन् ।

पोखरा चेम्बर अफ कमर्शले पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र नयाँ लगानीको विषयमा पर्यटन व्यवसायीसँग गरेको अन्तक्रिया कार्यक्रममा तिमिल्सिनाले सो कुरा बताएका हुन् ।

‘फेवाताल छ र पोखरा छ, फेवातालबाट कमाउनेहरु मात्रै निस्किए तर जोगाउनु पर्छ भन्नेहरु भएनन्, उनले भने । ‘संरक्षणको नाममा पैसाको खोलो बग्यो तर नतिजामुखी हुन सकेन’ । फेवाताल वरीपरि साइकल लेन बनाएर पर्यटकलाई आर्कषण गर्न सकिने उनले बताए ।

पोखरा र आसपासका जिल्लाहरुको पर्यटन प्रवद्र्धनमा पनि उनले सामुहिक पहलको खाँचो औल्याए । व्यवसायमा विविधता ल्याएर उत्पादनलाई पर्यटनसँग जोड्नु पर्नेमा उनले जोड दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पर्यटन क्षेत्रमा सरकारको लगानी शून्य रहेको बताए । पर्यटन व्यवसायीहरुले पटक पटक आफ्ना समस्याहरु राखेपनि सरकारले समस्या समाधान तर्फ ठोस कदम नचालेको उनले आरोप लगाए ।

पर्यटकको साढे एक दिनको पोखरा बसाइले पोखराको पर्यटन व्यवसायलाई धान्न मुस्किल परेको भन्दै पूर्वाधार विकास विना सरकार गरेको भ्रमण वर्षले खासै अर्थ नराख्ने उनले बताए ।

कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटा, केदार शर्मा, महासचिव दिल गौतम, कोषाध्यक्ष तारानाथ पहारी, ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल, नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेल, होटल एशोसिएशनका अध्यक्ष विकल तुलाचन लगायतले पोखरा पर्यटन क्षेत्रमा धेरै चुनौतीहरु थपिदै गएको बताए ।

अन्तराष्ट्रिय विमानस्थलको काम तीव्र रुपमा अघि बढि रहँदा सडकहरुको अवस्था भने दयनीय रहेको, सरकार व्यवसायी मैत्री हुन नसक्दा बैंकको चर्काे व्याज, कर र पर्यटक आर्कषित पूर्वाधार अभावमा पर्यटन क्षेत्रमा चुनौती थपिदै गएको व्यवसायीहरुले गुनासो गरे ।

पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले पर्यटन व्यवसायनै आर्थिक समृद्धिको बलियो आधार भएको भन्दै उठेका सवालहरुलाई लिपिवद्ध गरेर सम्बन्धित निकायसमक्ष पुराएर कार्यान्वयनका लागि पहल गरिने बताए ।