हाईड्रोपावरबाट प्रभावित क्षेत्र भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ९ र अन्य जिल्लाका सर्वसाधारणका लागि पनि सेयर खुला गरेको छ ।
भोजपुर । इष्टर्न हाईड्रोपावर लिमिटेडले मंगलबारदेखि सेयर खुला गरेको छ । भोजपुरको पिखुवाखोलामा निर्माणाधिन ५ मेगावाट क्षेमताको इष्टर्न हाईड्रोपावर लिमिटेडले मंगलबारदेखि संस्थापक सेयर खुला गरेको हो । हाईड्रोपावरबाट प्रभावित क्षेत्र भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ९ र अन्य जिल्लाका सर्वसाधारणका लागि पनि सेयर खुला गरेको आयोजनाले जनाएको छ ।
प्रभावित वडाका सर्वसाधारणले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्र बाहेककाले प्रतिकित्ता १५० मा कम्तिमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म सेयर खरिद गर्न सकिने इष्टर्न हाईड्रोपावर लिमिटेडका जनसम्पर्क अधिकृत दिपेन राईले जानकारी दिए । उनकाअनुसार हाईड्रोपावरले खुला गरेको सेयर प्रभु बैङ्कको शाखा कार्यालय भोजपुरमार्फत लिन सकिने छ । सेयर किन्नका लागि १५ दिनसम्मको समयावधि दिइएको राईले बताए ।
हाईड्रोपावरको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम पनि जतिसक्दो चाँडो सकेर यही चैत महिनाबाटै सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यस हाईड्रोपावले भोजपुर जिल्लामै सबैभन्दा बढी (५मेगावाट) क्षेमताको विद्युत् उत्पादन गर्न लागेको हो । यो आयोजना १ अर्ब २० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।