आईपिएल खेल्न सन्दीप दिल्ली प्रस्थान

काठमाडौं । आगामी शनिबारदेखि सुरू हुने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भारत प्रस्थान गरेका छन्।

दिल्ली क्यापिटलले रिटेन गरेका सन्दीप सन्दीप बुधबार बिहान दिल्ली प्रस्थान गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै आफू दिल्ली प्रस्थान गरेको जानकारी दिएका छन्।

दिल्ली जानुअघि मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सन्दीपले यो सिजन क्यापिटल बलियो टोली भएकाले आईपीएलको उपाधि जित्ने सभ्भावना रहेको बताएका थिए।

सन्दीपले गत वर्षको आईपीएलबाट नै टी-ट्वान्टी क्रिकेटमा डेब्यू गरेका थिए। सन्दीपको टिमले पहिलो खेल मार्च २४ रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्सविरुद्ध खेल्नेछ।

यसअघि अघिल्लो सिजनमा पछिल्ला तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिँदै आफूलाई साबित गरेका थिए।

आईपीएल पछि सन्दीपले पछिल्लो ११ महिनामा विश्वका प्रशिद्ध फ्रेन्चाइज टी-ट्वान्टी लिगमा आफ्नो प्रतिभा देखाइसकेका छन् ।

सन्दीप गत साता मात्र पाकिस्तान सुपर लिग (पीएसएल)  क्रिकेट खेलेर स्वदेश फर्किएका थिए। त्यसअघि उनले अष्ट्रेलियाको बिग ब्यासको फाइनलसमेत खेलेका थिए।