मेनपावर व्यवसायीको घर र एनसेल अगाडि बिष्फोट गराउने थप चार पक्राउ

काठमाडौं । मेनपावर व्यावसायी रोहन गुरूङ र नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम बिस्फोट गराउने थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार राति उनीहरूलाई पक्राउ गरेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए।

पक्राउ  पर्नेहरुमा बिशाल तामाङ, शिव धिमाल, देकेन्द्र राई र भुमबहादुर बिक रहेको एसपी केदारले बताए।

मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले यसअघि १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

काठमाडौं उपत्यकाबाट पक्राउ परेका ६ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा बम विष्फोट गराएर क्षति पुर्‍याएको थियो।

ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका थिए।

डेढ अर्ब नदिएपछि बिप्लव माओवादीले गर्यो एनसेलमाथि आक्रमण