घरेलु मैदानमा जर्मनी सर्वियासँग बराबरीमा रोकियो

बर्लिन। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी सर्बियासँग बराबरीमा रोकिएको छ।

बुधबार राति भएको खेलमा जर्मनीले सर्बियासँग १-१ गोलको बराबरी खेलेको हो।

खेलको १२ औं मिनेटमा लुका जोभिकले गोल गर्दै सर्बियालाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले पछि परेको घरेलु टोलीका लागि खेलको ६९ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।

यस्तै खेलको इन्जुरी समयमा मिलान पाभकोभले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो। यद्यपी जर्मनीले त्यसको फाइदा उठाउन सकेन।

पाभकोभले लोरी सानेलाई खराब ट्याकल गरेसँगै उनलाई रेफ्रीले रातो कार्ड दिएका थिए।

पाभकोभले सानेको देब्रे खुट्टाको नली खुट्टामा टेकेका थिए। जसको कारण सानेको हड्डीसमेत भाँचिएको बताईएको छ ।

युरोकप छनोटको तयारीमा रहेका जर्मनी र सर्बियाले मैत्रीपूर्ण खेल खेलेका हुन्।

जर्मनीले आइतबार नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसँग खेल्ने छ।