नेप्से ७ अङ्कले बढ्दा कारोबार रकम ३७ करोडले घट्यो

यो साता ३ दिन नेप्से बढेको थियो । पहिलो दिन आइतबार भने घटेको थियो । सेयर बजार सूचक बढेको अवस्थामा कारोबार रकम घट्नु भनेको सेयर लगानीकर्ताले सेयर बिक्री गर्न अझै तत्पर नभएको बुझिन्छ ।

यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढेको भएपनि कारोबार रकममा भने सुधार आउन सकेन । यो साता ४ दिन कारोबार हुँदा नेप्से परिसूचक ७ अङ्कले बढेको छ भने कारोबार रकम करिब ३७ करोडले घटेको छ ।

पछिल्ला दिनहरुमा नकारात्मक रहेको नेप्से सूचक यो साता भने बढेको छ । यो साता ३ दिन नेप्से बढेको थियो । पहिलो दिन आइतबार भने घटेको थियो । सेयर बजार सूचक बढेको अवस्थामा कारोबार रकम घट्नु भनेको सेयर लगानीकर्ताले सेयर बिक्री गर्न अझै तत्पर नभएको बुझिन्छ ।

यो साता बैङ्क वित्तीय संस्थाको सेयर मूल्यमा सुधार आएपछि समग्र बजार सूचकमा सुधार आएको हो । यो साताको पहिलो दिन कारोबार सुरु हुँदा १४०४.५३ अङ्कमा रहेको नेप्से परिसूचक ६.९९ अङ्कले बढेर १४११.५२ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले बढेको छ ।
यो साता नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्किङ ९.८८, विकास बैङ्क १७.५४, लघुवित्त ११.४२, व्यापार १.८५ र बिमा समूह ३४.२४ अङ्कले बढेका छन् । तर, वित्त ०.१६, होटल ७.९९, जलविद्युत् २५.३७, उत्पादनमूलक ७.४४ र अन्य समूह १.७३ अङ्कले घटेका छन् ।

यो साता नेप्से सूचक बढेपनि कारोबार रकम घटेको छ । नेप्सेमा १७२ कम्पनीहरुको १६ हजार ७ सय ६९ कारोबारबाट एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरका ३४ लाख ७३ हजार २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको तुलनामा २१.२८ प्रतिशत थोरै हो । गत साता १७७ कम्पनीहरुको १९ हजार १३३ कारोबारबाट एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरका ५० लाख ५९ हजार नौ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यो साता नेप्सेमा सानिमा माई हाईड्रोपावर कम्पनीको धेरै रकम बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी नेपाल बैङ्कको धेरै कित्ता सेयर किनबेच भएको छ । यो साता नेप्सेमा धेरै पटक सेयर खरिद बिक्री हुने कम्पनीमा नेपाल इन्भेस्टमेन्ट बैङक परेको छ । यो साता नेप्सेमा कारोबार भएका चारै दिन संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।