हिमनदी पग्लिन थालेपछि सगरमाथामा देखा पर्न थाले आरोहीका शव

उच्चस्थानमा रहेका शिविरबाट शव खोजेर हटाउन धेरै महँगो र अप्ठ्यारो काम हो । विज्ञहरुका अनुसार एउटा शव तल ल्याउन ४० देखि ८० हजार डलरसम्म पर्न जान्छ ।

एजेन्सी । हिमनदी पग्लिन थालेपछि सगरमाथामा मृतआरोहीका शव देखा पर्न थालेका छन् । सगरमाथा आरोहणको पहिलो प्रयासदेखि अहिलेसम्म त्यहाँ तीन सय आरोहीको मृत्यु भइसकेको छ, जसमध्ये दुई तिहाइ शव अझै पनि हिउँभित्र पुरिएका छन् ।

स्प्रिङ आरोहण मौसम सुरु भएपछि चिनियाँ पक्षले उत्तरतर्फको क्षेत्रका शव हटाउन थालेको छ । पृथ्वीको सर्वोच्च शिखर सगरमाथामा हालसम्म ४८ सय आरोही ओहोरदोहोर गरिसकेका छन् ।

नेपाल पर्वातारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले भने, ‘विश्व तापमान बढेका कारण आइस र हिमनदी तीव्ररुपमा पग्लिँदैछन् र अहिलेसम्म त्यहाँ पुरिएर रहेका शवहरु देखा पर्दैछन् । हालका वर्षहरुमा मरेका आरोहीहरुका शव हामीले तल ल्याएका छौं, तर पुरिएका पुराना भने अहिले बाहिर आउँदै छन् ।’

सगरमाथामा सरकारका सम्पर्क अधिकारी भन्छन्, ‘म आफैले पनि हालका वर्षहरुमा सगरमाथाका विभिन्न स्थानबाट दस ओटा शव निकालिसकेको छु, अहिले थप शव स्पष्ट देखिने गरी बाहिर आउँदैछन् ।’

अभियान सञ्चालक सङ्घ नेपाल ईओएएनका अधिकारीहरुले अहिले आफूहरुले यो आरोहण सिजनमा सगरमाथा र ल्होत्से हिमालको उच्च शिविरका सम्पूर्ण डोरी तल झारिरहेको तर शव निकाल्ने काम सजिलो नभएको बताएका छन् ।

शव ल्याउन सरकारी निकायको संलग्नताको आवश्यकता चुनौती रहेको बताइएको छ । ईओएएनका अध्यक्ष डम्बर पराजुली भन्छन्, ‘यो विषयलाई सरकार र आरोहण उद्योग दुवैले प्राथमिकतामा राख्नु आवश्यक छ । यदि उनीहरुले यो गर्न सक्दैनन् भने तिब्बत पक्षले पनि गर्न सक्नेछ ।’

देखा परेका शव
२०१७ मा शिविर नम्बर एकको ग्राउन्डमा एउटा मृत आरोहीको हात देखा परेको थियो । त्यस समय अभियान सञ्चालकहरुले शेर्पा समुदायका व्यावसायिक अरोहीको सहयोगमा शव हटाएका थिए । त्यही वर्ष खुम्बु हिमनदीको सतहमा अर्को शव देखा परेको थियो ।

आरोहीहरुका अनुसार खुम्बु आइफलमा नै हालैका वर्षहरुमा धेरैजसो शव देखा पर्ने गरेका छन् । शवहरु देखा पर्ने अर्को स्थल भनेको शिविर नम्बर चार हो, जसलाई साउथ कोल पनि भनिन्छ । यो तुलनात्मकरुपमा समतल परेको ठाउँ छ ।

‘बितेका केही वर्षहरुमा आधार शिविरमा पनि मृतकका हात र खुट्टा देखा परेका छन्,’ सो क्षेत्रमा तैनाथ एक जना गैर सरकारी संस्थाका अधिकारीले भने, ‘हामीले नोटिस गरेका छौं, आधार शिविर क्षेत्रमा हिउँको तह तल झर्दैछ ।’

हिमनदी पातलिँदै
सगरमाथा क्षेत्र र अन्य हिमाली क्षेत्रका हिमनदीहरु पग्लनुका साथै पातलिँदै गरेको धेरै अध्ययनले देखाएका छन् ।

२०१५ मा भएको एउटा अध्ययनले खुम्बु हिमनदीमा रहेको दह जसलाई आरोहीले तर्नुपर्छ, त्यो फैलिरहेको र जोडिइरहेको देखिएको छ । यसको कारण हिउँ तीव्ररुपमा पग्लिनु नै हो ।

हिमनदीबाट पग्लेको पानी बढेर खतराको सीमाभन्दा माथिल्लो सतहमा पुगेपछि नेपाली सेनाले २०१६ मा सगरमाथामा रहेको इम्जा दहबाट पानी निकासा गरेको थियो ।

बेलायतस्थित लिड्स र अबेर्सविथ विश्वविद्यालयका सदस्यसहितको अर्को अनुसन्धान टोलीले खुम्बु हिमनदीमा हिउँ खोदलेको थियो, जहाँ अपेक्षा गरेभन्दा धेरै तापमानमा आइस पाएको थियो । उक्त आइसको तापमान ३.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आरोहीका अनुसार हिमनदी तीव्ररुपमा पग्लिएपछि खुम्बु हिमनदी तैरिएर ती शव बाहिर आइरहेका हुन् ।

नेपाल राष्ट्रिय हिमाली गाइड सङ्घका उपाध्यक्ष छिरिङ पाण्डे भोटेका अनुसार खुम्बु हिमनदीको चालका कारण आरोहीले समय समयमा शव देखिरहेका छन् । तर अधिकांश आरोही यस्तो परिस्थितिबाट गुज्रिनका लागि अघिबाट नै तयार रहेका हुन्छन् ।

कोशेढुङ्गाका रुपमा शव
अग्लो स्थानमा देखिएका केही शवले भने आरोहीहरुका लागि ल्यान्डमार्कको काम गरिरहेका छन् । एउटा त्यस्तै मार्गस्थल बन्यो ‘ग्रिन बुट’, जुन शिखरनजिक अवस्थित छ । त्यो ती आरोहीहरुको छाप हो जहाँ उनीहरुको मृत्यु भएको थियो ।

उच्चस्थानमा रहेका शिविरबाट शव खोजेर हटाउन धेरै महँगो र अप्ठ्यारो काम हो । विज्ञहरुका अनुसार एउटा शव तल ल्याउन ४० देखि ८० हजार डलरसम्म पर्न जान्छ ।

नेपाल पर्वातारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पा भन्छन्, ‘एउटा सबैभन्दा चुनौतीपूर्ण शव निकाल्ने काम शिखरनजिक ८,७०० मिटरको उचाइमा भएको थियो । शव पूर्णरुपमा जमेको थियो र त्यसको तौल १५० किलो थियो । त्यसलाई धेरै अप्ठ्यारो ठाउँबाट निकाल्नु परेको थियो ।’

विज्ञहरुका अनुसार शवलाई हिमालमा के गर्ने भन्ने विषय एकदमै व्याक्तिगत विषय हुन्छ । कतिपय आरोही मरेपछि हिमालबाट तल झर्न चाहन्छन् । यसकारण उनीहरुलाई त्यसै छाड्नु असम्मान हुन्छ ।