पर्यटकीय सिजन सुरु भएसँगै मजदुर आन्दोलित (यस्ता छन् माग)

नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, पुरातात्त्विक, सांस्कृतिक, कार्गो तथा कुरियर कर्मचारी मजदुर युनियन (यूनिट्राभ )ले बिहीबार पत्रकार सम्मेलन गरी २० गतेभित्र सम्झौता पूर्णरुपमा लागू नगरेमा २१ गतेबाट हडताल गर्ने र त्यसबाट पर्ने प्रभावको जिम्मेवार नेपाल सरकार र पर्यटन मन्त्रालयले लिनुपर्ने जनाएको छ ।

काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै त्यसमा आबद्ध मजदुर आन्दोलित भएका छन् । उनीहरुले पर्यटन क्षेत्रमा क्रियाशील मजदुरसँग भएका विभिन्न सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएको भन्दै हडतालमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, पुरातात्त्विक, सांस्कृतिक, कार्गो तथा कुरियर कर्मचारी मजदुर युनियन (यूनिट्राभ )ले बिहीबार पत्रकार सम्मेलन गरी २० गतेभित्र सम्झौता पूर्णरुपमा लागू नगरेमा २१ गतेबाट हडताल गर्ने र त्यसबाट पर्ने प्रभावको जिम्मेवार नेपाल सरकार र पर्यटन मन्त्रालयले लिनुपर्ने जनाएको छ ।

पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा सेवा सुविधा श्रम ऐनअनुसार कार्यान्वयन नगरेका क्षेत्रमा तत्काल लागू गर्न आग्रह गरेको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच आपसी समन्वय गरी श्रमिक तथा व्यवसायी सङ्गठनबीच वार्ता र संवादमार्फत् यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गरेको छ ।

आफूहरुले उठाउँदै आएका माग सम्बोधन नभएमा पर्यटन व्यवसायीका सङ्गठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डलगायत सरोकार क्षेत्रका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको छ ।